मन्त्री महासेठको ठाडो आदेशमा सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही,विभागबाट हटाइए

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ। यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले मन्त्रालय तानिएको हो। सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् । उनी सकेसम्म मन्त्रालय नजाने मनस्थितिमा पुगेका छन्।

गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अरू नौ वटा नयाँ कार्यविधि ल्याएर यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय थिए। सुरूवातमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई पूर्ण साथ दिए पनि मन्त्री महासेठ भने उनीसँग शसंकित थिए। यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए।

१३ महिनादेखि व्यवस्था विभाग सम्हालेका महानिर्देशक भट्टराईले करिब ८० कर्मचारीलाई विभागीय कारबाही गरिसकेका छन्। उता मन्त्री महासेठले भने विशेष कामले मन्त्रालय तानिएको दाबी गरेका छन् । ‘विशेष काम र भूमिकाका लागि कर्मचारीलाई मन्त्रालयमा तान्न पाइन्छ’, महासेठले भने, ‘भट्टराईलाई पनि विशेष कामले तोनको हुँ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु