प्रचण्डजी मदनको बाटोमा आउनुभयो, अब कांग्रेस प्रतिष्पर्धी दल रहेन : प्रम ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीले बनाएको विचारको गोरेटो ६ लेनको राजमार्ग बनेको बताएका छन् । विहीबार बिहान एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै ओलीले एमाले-माओवादी एकताले मदन भण्डारीले बनाएको गोरेटो फराकिलो भएको बताए । उनले मदन भण्डारीले लिएको विचार असाधारणरुपमा सफल भएको जिकिर गरे ।

सम्बोधनको क्रममा एमाले-माओवादी एकतापछि नेपाली कांग्रेस प्रतिष्पर्धी दल नरहेको घोषणा गरे । ‘अब जनमत र सदनमा पनि हामी बलियो भएका छौं, नेपाली कांग्रेस प्रतिष्पर्धी दल रहेन,’ उनले अगाडि भने, ‘कांग्रेस सहयोगी पार्टी हो तर लोकतन्त्रका लागि हामी कांग्रेसलाई पनि सँगै लिएर जान्छौं ।’ उनले यो एकताले अधिनायकवादी हुन भन्दा विकासवादी हुने बताए ।

उनले कम्युनिष्टले फुट्न बिर्सिएको र जुट्न मात्र जानेको बताए । ‘हामीले सपार्न जानेका छौं, बिगार्न जानेका छैनौं,’ उनले भने, ‘कम्युनिष्टले अब फुट्न बिर्सिसक्यो, अब जुट्न मात्र जानेको छ ।’

कतिपएले एमाले-माओवादी एकतालाई बुझ्दै नबुझेको बताए । एमाले-माओवादी एकता हुँदैन भन्नेहरुलाई व्यवहारले जवाफ दिएको उनको धारणा थियो । ‘एकता टर्‍यो, चिसोपना बढ्यो भन्नेहरुलाई मैले भोलि बालुवाटार आउ चिसियो कि तातियो हेर्न भनेको थिएँ,’ उनले भने, ‘प्रचण्डजीलाई भेटेपछि म झन् उत्साहित भएँ, हुन त म त्यसअघि नै उत्साहित थिएँ ।’

बिहानै एमालेको पुरानो कार्यालय बल्खुमा पुगेर तस्बिरमा माल्यार्णपण गरिएको छ । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमालेले गर्ने कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी भएका हुन् । २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिवित रहे पनि नेताहरुको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु