एमाले–माओवादी केन्द्रबीच यसरी गरियो पदीय भागबण्डा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भोलि (बुधबार) नै पार्टी एकताको घोषणा गर्ने सहमति भएको छ । मंगलबार बिहान प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिपछि भोलि एकता संयोजन समितिको बैठक डाकिएको छ । आजै बसेको एमालेको स्थायी समिति र माओवादी केन्द्रको कार्यालय बैठकले सहमतिलाई एकता समितिमा लगेर टुंगाउने निर्णय लिएका छन् ।

स्रोतका अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ । ४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् । नेताहरुले ४३ सदस्यीय स्थायी समिति बनाउने र भोलि नै दुवै पार्टीका केन्द्रीय समिति बिघटन गर्ने तयारी गरेका छन् । भोलि नै एकता संयोजन समिति बसेर सबै कुरा टुंगाउने तयारी भएको स्रोतले बतायो ।

नयाँ पार्टीको चुनाव चिन्ह सूर्य रहनेछ भने माओवादीले उठाउँदै आएको जनयुद्धको भावलाई विधान र प्रतिवेदनमा सम्मानजनक रुपमा समावेश गरिनेछ । एकता टुंगाएपछि भोलि नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता हुने एक नेताले जानकारी दिए । रातभरिमा कुनै चमत्कार भएन भने भोलि दुई पार्टी एक हुने नेताहरुले दावी गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु