एकता प्रक्रिया निष्कर्षतिर,भोलि नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया निष्कर्षतिर पुगेको छ । आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।

स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । भोलि बिहीबार नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने हुनेछ ।

यसको तयारीको लागि आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् । एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ । भोलि ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको पनि वैठक आव्हान गरेको छ । माओवादीले पनि चार बजे पार्टी सचिवालयको बैठक बोलाएको छ ।

एमालेका एक नेताका अनुसार आजको बैठकमा माओवादी अध्यक्ष दाहालका एकतापछिका कतिपय विषयबारेका आशंका ओलीले मेटाइदिएपछि एकता प्रक्रिया निष्कर्षतिर पुगेको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु