अत्याधिक सम्भोगका कारण प्रजाति नै जोखिममा

एजेन्सी । अष्ट्रेलियाको मार्सुपियल परिवारका (पेटमा थैली हुने) दुई प्रजाति अत्याधिक यौन सम्पर्क राख्ने बानीका कारण लोप हुने स्थितिमा पुगेका छन्। मंगलबार यी दुई प्रजातिलाई लोपोन्मुख प्रजातिको सूचीमा राखिएको छ। मुसाजस्तो देखिने यी दुई प्रजातिमा घातक यौन आदत हुन्छ। लामो समयसम्म पोथीसँग यौन सम्पर्क गरेपछि यी प्रजातिका भालेहरुको मृत्यु हुन पुग्छ। कतिपय अवस्थामा यिनीहरु १४ घण्टासम्म लगातार यौन सम्बन्ध राख्छन्।

जलवायु परिवर्तन, बासस्थानको कमी र परजीविका कारण पनि यी प्रजाति जोखिममा परेका हुन्। वार्षिक रुपमा हिउँदको अन्त्यमा दुई साताको समय यी प्रजातिको समागमको समय हो। ‘यी जीव अत्यन्तै उन्मत्त हुन्छन् र एकपछि अर्को यौनसाथीसँग सम्भोग गर्छन्। जुन घण्टौँसम्म चलिरहन्छ,’ क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका स्तनधारी जीवविज्ञ एन्ड्र्यु बेकर भन्छन्।
समागम अवधिमा एकदम स्वस्थ भाले पनि ‘हेर्दाहेर्दै नष्ट हुने अवस्थामा पुग्ने’ उनी बताउँछन्।

सम्भोग, पोथीहरुसँग घुमफिर र प्रतिद्वन्द्वी भालेसँग लड्दा यी जीवमा अत्याधिक टेस्टोस्टेरोन हर्मोन बढ्न जान्छ। जसले स्ट्रेस हर्मोनको उत्पादन रोकिन दिँदैन। फलस्वरुप तिनको अंगहरु नष्ट हुन थाल्छन् र जीव मर्दछ। ‘यी जीव प्रायः निशाचर हुन्छन्। तर दिउँसो पनि लड्दैपड्दै यिनीहरु यौनसाथीको खोजीमा भौँतारिइरहेका हुन्छन्। उनीहरुको शरीरको विभिन्न भागबाट रगत बगिरहेको हुन्छ, रौँ उखेलिएको हुन्छ,’ बेकर भन्छन्।

यी जीवको पोथीको आयु करिब २ वर्षको हुन्छ। जसमध्ये आधाभन्दा बढीले एक पटक मात्रै ६ देखि १४ ओटा बच्चा जन्माउँछन्। भालेहरु एक वर्ष पुग्नुअघि नै मर्ने गर्छन्। अष्ट्रेलियाको क्विन्स्ल्याण्डस्थित मात्र तीन क्षेत्रमा यी जीव पाइन्छन्, जसको संख्या २५० भन्दा कम रहेको बताइन्छ। यी दुवै जीव बेकरले नै सन् २०१३ मा खोजी गरेका थिए। यी जीवको रक्षा कसरी गर्ने भन्ने विषयमा बेकर र उनको टोली लागिरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु