फुटबल खेलाडी मणी शाहको पार्थिव शरीर दशरथ रंगशालामा

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका लिजेन्ड पूर्व खेलाडी मणीविक्रम शाहको पार्थिव शरीर श्रद्धान्जलिका लागि अहिले दशरथ रंगशालामा राखिएको छ। उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेता, खेलाडी एवं शुभचिन्तकहरू दशरथ रंगशाला पुगेका छन्।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित शाहको सोमबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। यसअघि आइतबार नै अस्वस्थताका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। ५१ वर्षे उनको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने निर्णय गरेको थियो। शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए।

त्यसपछिको एक दशक उनी नेपाली राष्ट्रिय टोलीका मुख्य सदस्य रहे। नेपालले सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनले महत्वपूर्ण भुमिका खेलेका थिए। फाइनलमा भारतबिरुद्ध उनले अन्तिम सेकेण्डमा बराबरी गोल गरेपछि नेपालले पेनाल्टीमा अविश्मरणीय ४–३ को जित निकालेको थियो। उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोकेको थिए।

फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी नेपालका खेलाडी हुन्। मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा खेल्ने उनलाई नेपाली म्याराडोना पनि भनिन्थ्यो। मणिको खेल्ने ड्रिबल र फिनिसिङ अनि हुलियापनि म्याराडोनासँग मिल्ने भएकाले समर्थकहरुले उनलाई यो नाम दिएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु