यस्ता छन् अस्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालय

अष्ट्रेलिया । क्युएसले वर्ष २०१७ का लागि सार्वजिनक गरेको अन्तर्राष्ट्रिय विश्वबिद्यायलय वरियताक्रममा संसारका १ सय उत्कृष्ट विश्वविद्यालयमध्ये अष्ट्रेलियाका ३५ वटा परेका छन्। गत वर्ष यो सूचीमा ३३ अष्ट्रेलियन विश्वविद्यालय परेका थिए। विश्वकै सय उत्कृष्ट सूचीमा परेका अस्ट्रेलियन विश्वबिद्यालयहरु मध्ये प्रमुख दश विश्वविद्यालयमा पढ्न राम्रो अंक ल्याउनुका साथै महंगो शुल्क तिर्नुपर्ने हुन्छ।

महंगो भए पनि स्तरीय पठनपाठन र उज्वल भबिष्यको वाटो बुन्ने यी विश्वविद्यालयहरुमा अहिले पनि हजारौं नेपाली विद्यार्थी आवद्ध छन्। महंगो शुल्कले थिचे पनि गुणस्तरीय शिक्षाले उज्वल भबिष्यको निमार्णमा भूमिका खेल्ने भएकोले अभिभावकहरुले आफ्ना छोरा छोरीहरुलाई उच्च अध्यनका लागि पठाउँदै गर्दा यस्ता विषयमा सोच्नुपर्ने बेला आइसकेको छ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटी

अष्ट्रेलियन नेशनल विश्वविद्यालय यस वर्ष अष्ट्रेलियाको पहिलो नम्बरमा परेको छ भने विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा २२ औं स्थानमा अटाएको छ।

राजधानी क्यानबेरामा रहेको यो युनिभर्सिटी विश्वमै ख्यातिप्राप्त विश्वविद्यालय मध्ये एक हो। अष्ट्रेलियाको संसदले सिर्जना गरेको यो एक मात्र विश्वविद्यालय हो।

यो युनिभर्सिटीमा २२ हजार ५ सय बढी विद्यार्थी र ६ वटा नोबेल पुरस्कार विजेता प्रोफेसर छन्। राजनीति शास्त्र, भाषा विज्ञान, भूगोल र विज्ञान संकायका लागि यो युनिभर्सिटी विशेष मानिन्छ।

मेलबर्न विश्वविद्यालय

अन्तर्राष्ट्रिय वरियतामा ४२ औं स्थानमा पर्न सफल यो विश्वविद्यालय अष्ट्रेलियाको दोस्रो पूरानो विश्वविद्यालय हो। यसको स्थापना सन् १८५३ मा भएको थियो।

यो विश्वविद्यालय पढेका चार जना अष्ट्रेलियाका प्रधानमन्त्री बनिसकेका छन्। यसमा ९ जना नोबेल पुरस्कार विजेता लेक्चरहरु छन्। अष्ट्रेलियाका युनिभर्सिटीहरुमा दोस्रो नम्बरमा पर्ने यो विश्वविद्यालय मेडिसिन, एकाउन्टिङ, साइकोलोजी र शिक्षा विषयहरुका लागि विशेष मानिन्छ।

युनिभर्सिटी अफ सिड्नी

अष्ट्रेलियन विश्वविद्यालयहरुमा तेस्रो नम्बरमा पर्ने यो विश्वकै ४६ औं उत्कृष्ट विश्वविद्यालय हो। युनिभर्सिटी अफ सिड्नीसँगै अमेरिकाको न्युयोर्क विश्वविद्यालय पनि ४६ औं नम्बरमा परेको छ।

अष्ट्रेलियाको पहिलो विश्वविद्यालयका रुपमा सिड्नीमा यसको स्थापना सन् १८५० मा भएको हो। कानुन, शिक्षा, मेडिसिन, एकाउण्टिङ र फाइनान्सका लागि यो युनिभर्सिटी विशेष मानिन्छ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्स

युनिभर्सिटी अफ न्यूसाउथ वेल्स विश्वकै उत्कृष्ट युनिभर्सिटीहरुमा ४९ औं स्थानमा छ। यो युनिभर्सिटीको स्थापना प्रतिष्ठित ८ समूहको सक्रियतामा अष्ट्रेलियन रिसर्च युनिभर्सिटीका रुपमा भएको हो।

युएनएसडब्ल्यु सिड्नीमा अवस्थित छ। यसले अन्य अष्ट्रेलियन युनिभर्सिटीहरुको भन्दा धेरै मिलिनियरहरु उत्पादन गरेको छ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्ड

विश्वका उत्कृष्ट १०० युनिभर्सिटीहरुमा युनिभर्सिटी अफ क्वीन्सल्याण्ड यो वर्ष ५१ औं स्थानमा रहेको छ।

बेलायती युनिभर्सिटी वारवीकसँगै यो युनिभर्सिटी पनि ५१ औं स्थानमा पर्न सफल भएको हो। यो राज्यको राजधानी ब्रिसबेनमा रहेको छ। सन् १९०९ मा स्थापना भएको यो क्वीन्सल्याण्डकै पुरानो विश्वविद्यालयमा पर्छ।

मोनास विश्वविद्यालय

मेलबर्नमा रहेको मोनास युनिभर्सिटी २ स्थान माथि उक्लदै यो वर्ष विश्वका उत्कृष्ट युनिभर्सिटीहरुको सूचीमा ६५ औं स्थानमा पर्न सफल भएको छ।

यो युनिभर्सिटीको नामाकरण प्रमुख अष्ट्रेलियन जनरल सर जोन मोनासको नामबाट गरिएको हो। यस विश्वविद्यालयमा ७० हजार विद्यार्थी अध्ययन गरिरहेका छन्।

जसमध्ये २६ हजार २ सय विद्यार्थी अष्ट्रेलियाभन्दा बाहिरका छन्। अनुसन्धानका लागि यो विश्वविद्यालय विश्वमै विख्यात छ।

युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलिया

पर्थमा रहेको यो युनिभर्सिटी अष्ट्रेलियाको सातौ उत्कृष्ट युनिभर्सिटी हो। सन् २०१६ १७ का विश्वका उत्कृष्ट युनिभर्सिटीहरुको सूचीमा यो १०२ औं स्थानमा रहेको छ।

सौन्दर्यका लागि पनि विश्वमै उत्कृष्ट मानिने यो विश्वविद्यालय गत वर्ष भने ९८ औं स्थानमा रहेको थियो। यो युनिभर्सिटी संस्कृति, सोसल र स्पोर्टिङ अध्ययनका लागि राम्रो मानिन्छ।

युनिभर्सिटी अफ एडिलेड

विश्वका उत्कृष्ट युनिभर्सिटीहरुमा युनिभर्सिटी अफ एडिलेड १ सय २५ औं स्थानमा परेको छ। यो अष्ट्रेलियाको तेस्रो पुरानो विश्वविद्यालय हो। गत वर्ष यो विश्वविद्यालय विश्वका उत्कृष्ट सूचीमा १ सय १३ औं स्थानमा परेको थियो। सिंगापुरमा समेत यसको शाखा कलेज निकै प्रसिद्ध छ ।

युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी

युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी यस बर्ष २५ स्थान माथि उक्लदैं अन्तर्राष्ट्रिय सूचीको १ सय ९३ औं स्थानमा परेको छ। यो विश्वविद्यालय अष्ट्रेलियन टेक्नोलोजी नेटवर्कको सदस्य विश्वविद्यालय हो, जुन नेटवर्क भित्र अष्ट्रेलियाका ५ वटा विश्वविद्यालय को समूह हो। यो अष्ट्रेलियाको सबैभन्दा ठूलो विश्वविद्यालय समेत एक हो।

युनिभर्सिटी अफ ओलङगोङ

सिडनीबाट दुई घन्टाको दुरीमा रहेको यस विश्वविद्यालयले २ सय ४५ स्थानबाट फड्को मार्दै २ सय १८ औं स्थानमा आफूलाई उभ्याएको छ।

न्यूसाउथ वेल्सको सहर ओलङगोङमा रहेको यो विश्वविद्यालयमा ३२ हजार २ सय विद्यार्थी पढिरहेका छन् । यस विश्वविद्यालयमा समेत करिब चार सय नेपाली विद्यार्थीहरू रहेको तथ्यांकले देखाउँछ।

हेमन्त काफ्ले- सेतोपाटीवाट साभार

Comments

comments

सम्बन्धित शिर्षकहरु