टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्री ओलीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखत रहेको बताएका छन् । ‘टेलिकमभित्र यस्ता प्रवृतिहरु हावी भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीले टेलिकमका खास प्राविधिक शाखाहरुमा २४ सै घण्टा सेवा कर्मचारी खट्नु पर्ने बताए । त्यस्ता शाखाहरुमा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

टेलिकम नाफाका लागि मात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘जनतालाई सञ्चार, शिक्षा ,सूचना आदिको सहजताका लागि टेलिकमले काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टीकल फाइबरको काम प्रति असन्तुष्टी जनाएका छन् । ‘यस कामका बारेमा गुनासाहरु आएका छन् । यसको काम जहाँ पुगेको छ त्यहीं रोक्नुहोस, ‘  प्रधानमन्त्री ओलीले भने, ‘यसका बारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिष्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिएका छन् । ‘टेलिकम प्रतिष्पर्धामा पछाडि पर्ने लक्षणहरु देखिएका छन्, ‘ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस ।’ प्रधानमन्त्री ओलीले टेलिकमको सेवा शुक्रबार अवरुद्ध हुने र सोमबार मात्र सञ्चालन हुन्छ भनेर जनस्तरबाट आएको गुनासो आफूले सुनेको बताएका छन् । ‘यी सबै कुरामा सुधार गर्नुहोस । आफ्नो सेवालाई विश्वासिलो बनाउनुहोस । ‘

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरेका छन् । ‘सेवा सुधारको प्रस्ताव ल्याउनुहोस, ‘ प्रधानमन्त्री ओलीले भने, ‘अनियमितता नगर्नुहोस । गर्नेलाई नछोड्नुहोस ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार निर्मूल पार्ने अभियानमा रहेकोले सबैलाई साथ दिन आग्रह गरेका छन् । त्यसका लागि सबै पक्षले सहयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

छलफलमा प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु