चितवनमा फेरि ‘सिरियल किलर’ ध्रुबे हात्तीको आतंक

चितवन । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जङ्गली हात्ती ध्रुवेले गए राति चितवनमा पाँच घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए ।

उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । ध्रुबे हात्तीले भरतपुर महानगरपालिका–२३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो ।

अर्यालका अनुसार गए राति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । ध्रुवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो । विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो । सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उनी घाइते भएकी छन् । घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जङ्गली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् । निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिबापत ५० हजार दिइएको बताए । समाजले हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनु पर्ने माग गरेका छन् । प्रहरी उपरीक्षक दीपक थापाले सोमबार छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु