एमाले-माओवादी पार्टी एकताको औपचारिक घोषणा

काठमाडौं । पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्।

६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए। ‘दुवै पार्टीका अध्यक्षले पार्टी एकतामा आशंका नगर्न, अन्योलमा नपर्न अपिल गर्दै छिट्टै पार्टी एकता हुने साझा घोषणा गर्नुहुन्छ,’ श्रेष्ठले अन्नपूर्णसँग भने। यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

यस अगाडी यी दुई पार्टीवीच कम्युनिस्ट पार्टी स्थापना दिवस (अप्रिल २२ तारिख) का दिन पारेर काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकता घोषणा गर्ने समझदारी थियो। २००६ साल वैशाख १० गते (अप्रिल २२)मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामाबजारमा भएको थियो।

२०१९ को तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीमा शृंखलाबद्ध टुटफुट र विभाजन आएको थियो। तर, असोजमा भने नेपालका अलग धारका दुई ठूला कम्युनिस्ट पार्टी एमाले-माओवादीले ५५ वर्षपछि एउटै कम्युनिस्ट पार्टी बनाउने साझा संकल्पसहित पार्टी एकताको प्रतिबद्धता जनाउँदै अहिले एकता प्रक्रियालाई करिब अन्तिम तयारीतिर पु¥याएको दाबी गर्दै आइरहेका छन्। सोहीअनुसार उनीहरूले पार्टी स्थापना दिवसलाई नै पार्टी एकता दिवसका रूपमा मनाउन खोजेका थिए। तर, एकीकृत पार्टीको संगठन निर्माण गर्दा संगठन अनुपात महाधिवेशनसम्म रहने भनिएका दुई अध्यक्षको कार्यक्षेत्र र अधिकार बाँडफाँटलगायत विषयमा कुरा नमिल्दा ९ वैशाखमा घोषणा गर्ने तयारी गरिएको एकता धकेलियो।

अब भने मजदुर दिवस (मे १ तारिख) वैशाख १८ र कार्ल माक्र्स जन्मजयन्ती (मे ५ तारिख) वैशाख २२ का दिनमध्ये एक दिन पारेर एकताको औपचारिक घोषणा गर्ने तयारीमा दुई पार्टी शीर्ष नेता छलफलमा जुटेका छन्। ‘अहिले हाम्रा अगाडि दुई वटा मिति प्रस्तावित छन्, छलफल जारी नै छ,’ माओवादी नेता श्रेष्ठले भने,‘सम्भवतः ती दुई वटा मितिमध्ये एउटा मितिमा पार्टी एकताको औपचारिक घोषणा हुनेछ। आइतबार भने दुवै अध्यक्षले एकतामा साझा प्रतिबद्धता जनाउँदै आशंका नपाल्न अपिल गर्नुहुनेछ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता घोषणा गर्ने बताएका एमाले-माओवादी पार्टी एकता लम्बिँदै आइरहेको छ। चुनावलगत्तै हुने भनिएको एकता सरकार गठनपछि हुने भन्दै त्यसबाट पनि पछि सारेर पार्टी स्थापना दिवसमा गर्ने गरी समझदारी एकता संयोजन समिति बैठकले समेत गरिसकेको थियो। तर, स्थापना दिवसमा पनि नभएपछि अब अर्काे मिति छलफलका क्रममा प्रस्तावित छ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच आपसी मन माझिन नसक्दा एकता प्रक्रियामा विलम्ब भएको बुझाइ नेताहरूको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच तीन दिनयता लगातार भइरहेका ‘वन टु वन’ छलफल आपसी मन माझामाझ गर्नकै लागि भएको र ती छलफल सकारात्मक दिशातिर केन्द्रित रहेको माओवादी नेता श्रेष्ठले बताए।

एमाले महासचिव तथा रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलले पनि एकता प्रक्रियामा विलम्ब नहुने संकेत गरे। ‘अब धेरै ढिला हँुदैन, नेताहरूको छलफल सकारात्मक रूपमै अगाडि बढेकाले छिट्टै एकता हुन्छ,’ पोखरेलले भने, ‘एकीकृत पार्टीमा व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकतालाई आधार बनाएर नेता-कार्यकर्ताको जिम्मेवारी तय गर्दै पार्टी एकता हुन्छ।’

सम्बन्धित शिर्षकहरु