प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई, युनाइटेडको अप्रत्यासित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनको वेष्ट ब्रुमसँग पराजित भएपछि सिटीले उपाधि जितेको हो ।युनाइटेड लिग तालिकाको पुछारमा रहेको वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो ।

वल्ड ट्राफर्डमा घरेलु टिमलाई हराउनका लागि जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो । उपाधि जित्ने क्रममा शीर्ष स्थानको सिटीले ३३ खेलबाट ८७ अंक जोड्न सफल भयो । सिटीले हालसम्म दुई खेलमा पराजय बेहोर्दा ३ खेलमा बराबरी र २८ खेलमा जित निकाल्न सफल भएको छ । दोस्रो स्थानको युनाइटेडको समान खेलबाट ७१ अंक रहेको छ । युनाइटेडलाई स्तब्ध बनाएको वेष्ट ब्रुम २४ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

योसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफ्नो प्रशिक्षक करियरको २४ औं उपाधि जित्न सफल भएका छन् । ४७ बर्षीय ग्वार्डिओलाले यसअघि स्पेन र जर्मन लिगको उपाधि जितिसकेका छन् । सन् २०१६ मा सिटी आएका ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनाबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि समेत जितेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु