ओलीसँगको ‘वान टु वान’ वार्ता छोडेर प्रचण्ड सुकुटे रिसोर्टमा,एकीकरणमै आंशका

काठमाडौं । पार्टी एकताका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको ‘वान टु वान’ वार्ता रद्द भएको छ । बैसाख ९ मा हुने भनिएको पार्टी एकताका लागि महत्वपूर्ण रुपमा हेरिएको आज हुने भनिएको वार्ता माओवादी अध्यक्ष प्रचण्डले रद्द गरेर रिसोर्टतिर घुम्न निस्किएका छन् ।

एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा पुगेका हुन् । तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक–पटक सुकुटे पुग्ने गरेका थिए ।

ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर, प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको स्रोतले जनाएको छ ।

दाहाल आइतबार परिवारसहित सुकुटेको इक्वेटर बिच रिसोर्टमा बस्ने कार्यक्रम रहेको जनाइएको छ । माओवादी केन्द्रका नेता एवम सांसद अग्नी सापकोटासहितको टोेली रिसोर्टमा बस्ने योजना रहेको माओवादी सिन्धुपाल्चोकका नेता माधव सापकोटाले जानकारी दिएका छन् । ‘नितान्त आरामका लागि जानु भएको हो, अरु खासै केही छैन’ सापकोटाले भने । सुकुटेमा रहदा पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम नरहेको सापकोटाले बताए ।

एकीकरणमै आंशका

बैसाख ९ गते नजिकिरहेका बेला मिल्न बाँकी गम्भिर कुराहरुमा एमाले–माओवादीले सैद्धान्तिक सहमति जुटाउनु पर्ने बेला बस्न लागेको वैठक समेत छोडेर माओवादी अध्यक्ष प्रचण्ड आराम भन्दै वैठक रद्द गरेर हिंडेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ । समानताको आधारमा पार्टी एकता, चुनाव चिन्ह र जनयुद्ध शब्दलगायतका विषयमा एमाले–माओवादीबीच गम्भिर मतभेद देखिएका बेला यहि विषयले पार्टी एकतामै आशंकाको अवस्था सिर्जना गरेको जानकार बताउँछन् ।

माओवादीको भ्रातृ संगठनले पनि केन्द्रका अध्यक्ष दाहाललाई भेटी समानताको आधारमा मात्र पार्टी एकतालाई अघि बढाउन सुझाव दिइरहेको बेला प्रचण्ड महत्वपूर्ण वैठक नै छाडेर चुपचाप बस्नुले प्रश्न गर्नेहरुलाई प्रशस्त ठाउँ दिएको छ ।

वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन । आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच यसबीचमा वार्ता समेत भएको छैन । यसबीचमा पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो । तर ओली फर्किए लगत्तै प्रचण्ड सुकेटतर्फ लागेका छन् ।

यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए । वार्ताको बारेमा दुवै पक्षले केही भनेका छैनन् ।

नेपाल निकट स्रोतका अनुसार पार्टी एकताप्रति प्रचण्ड पछिल्लो समयमा उत्साही नदेखिएकाले उनी खुमलटार पुगेका हुन् । प्रचण्डमा कतिपय कुराको संशय रहेको आफूले पाएको नेपालले निकटस्थहरुलाई बताएका छन् । एकीकरण प्रक्रिया सकेसम्म बैशाख ९ मै टुंग्याउन नेपालले आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड एकातिर राज्यसत्ता र पार्टी सत्तामा यसबीचमा आफ्नो स्थानबारे प्रष्ट हुनु चाहिरहेका छन् । अर्को्तिर बराबरी संख्याका आधारमा पार्टी एकीकरण गर्न र बिधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न कार्यकर्ता पंक्तिबाट दबाब छ ।

एमाले पक्षले भने चुनावको परिणामलाई मुख्य आधार बनाएर संगठन एकीकरण गर्नुपर्ने भन्दै माओवादीले भनेको ५०–५० कुनै हालतमा नहुने बताएको छ । जनयुद्ध शब्द राख्ने सन्दर्भमा भाषा मिलाउन सकिने एमाले नेताहरुको दावी छ । चुनाव चिन्ह सूर्यमा भने दुवै दल सहमत हुने सम्भावना छ ।- नयाँपेज

Comments

comments

सम्बन्धित शिर्षकहरु