“कर्णाली प्रदेशमा विकासको गाडी तीव्र गतिमा गुड्छ”

सुर्खेत । प्रधामन्त्री केपी शर्मा ओलीले अब कर्णाली प्रदेशलाई पछि पर्न नदिने बताएका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक कर्णाली प्रदेशमा आएका प्रधानमन्त्री ओलीले विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेको बताएका हुन् ।

आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदानमा बोल्दै उनले अब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताए । उनले भने, ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन भनेर भन्नुहुँदैन ।’ उनले कर्णाली प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचिरहेको बताए । उनले अगाडि थपे, ‘यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नैपर्छ ।’

उनले कर्णाली प्रदेशमा कृषिको सम्भावना रहेकोले कृषिको आधुनिकीकरणमा केन्द्र सरकार केन्द्रित हुने बताए । उनले कर्णालीका जडिबुटीको पहिचान, प्रशोधन, वितरण र प्रयोगमा ध्यान दिनुपर्ने पनि भन्दै कर्णाली प्रदेशलाई अर्गानिक बनाउन पनि लाग्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखे । ‘हामीलाई डाक्टर, इन्जिनियर, कृषि विज्ञ, पर्यटन विज्ञ, दक्ष योजनाकार चाहिएको छ,’ उनले भने, ‘सम्भावनाहरुलाई पहिचान गरेर त्यही अनुसारको काम गर्नुपर्ने बेला आएको छ ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले अब कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको जानकारी गराए । उनले मुगुमा आफूले एक बालिकालाई विद्यालय भर्ना गराएको स्मरण गर्दै भने, ‘अब कोही पनि निरक्षर रहनु पर्दैन ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु