सिरियामा अमेरिकी हमला, बेलायत र फ्रान्स पनि सहयोगी

अंकारा-सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका छन् । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरूमा आक्रमणका आवाजहरू सुनिएका छन् । ती सैन्य आक्रमणहरूले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरूलाई लक्ष्य बनाएको देखिएको छ ।

शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा शुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा शुरु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिए । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।

उनले आफूहरूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको बताएका छन् । यी तीन देशका सेनाले संयुक्तरूपमा आक्रमण थालेका अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरूले जनाएका छन् ।

आक्रमण शनिबार बिहानबाट मात्र शुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरू भने प्राप्त भइसकेको छैन । तर दमास्कासवरपर सुनिएको ठूलो आवाज र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ ।

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरूले जनाएका छन् । विज्ञहरूका अनुसार उक्त गुटा तथा विद्रोहीहरूको कब्जामा रहेको भनिएको अर्काे क्षेत्र डुमामा पनि यस्ता हतियारहरूको आक्रमण भएको अनुमान गरिएका विवरणहरू आएका छन् ।

त्यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ । साथै यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह हो भन्दै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको बताएका छन् ।

यसका साथै उनले सिरियाली सरकारका साझेदारहरू राष्ट्रहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसको दोषी हुन्, भनेका छन् ।

राष्ट्रपति ट्रम्पले, यस्तो क्रुर कार्यका लागि सिरियाली सरकार र उनीहरूका सहयोगीहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको समाचारमा जनाइएको छ ।

हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन् ।

सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु