चौराहाले लगातार दोस्रो पटक जित्यो धनगढी प्रिमियर लिग

काठमाडौं । टीम चौराह धनगढीले लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग(डीपीएल) को उपाधि जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै डीपीएलको उपाधि धनगढीले कब्जा गरेको हो । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

दुई बर्ष अगाडी धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहाले अघिल्लो बर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहाले २५ लाख रुपैयाँ प्राप्त गरेको छ । रुस्लान डीपीएल २ मा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमा सीमित रह्यो। काठमाडौंका अमित श्रेष्ठले सर्वाधिक ५८ रन जोडे। ३९ बलको सामना गरेका उनले ३ छक्का र ७ चौका प्रहार गरे। यस्तै, ज्ञानेन्द्र मल्ल ३० र सन्नी पटेलले २२ रन जोडे। धनगढीका ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफा २ तथा योगेन्द्रसिंह कार्की र साम्सद शेखले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। धनगढीका सुनिल धमलाले ७८ रनको उत्कृष्ट पारी खेले। ६३ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गरे। यस्तै रोहन मुस्तफाले ४२ बलमा ६० रनको पारी खेले। सो क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ८ रनमा नटआउट रहे। यसअघि गतवर्ष भएको पहिलो संस्करणको उपाधि पनि धनगढीले जितेको थियो। चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ ।

सम्बन्धित शिर्षकहरु