नेपालसँग सम्बन्ध गाँस्न नयाँदिल्लीलाई किन यति सकस ?

काठमाडौं । नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओली तीन दिने भ्रमणको लागि शुक्रबार भारत आएका छन् । र, सायदै हिमालयको देशबाट आउने प्रमुखको भारत भ्रमणले यति धेरै ध्यान आकृष्ट गरेको होला जति ओलीको भारत भ्रमणले गरेको छ ।

तर भारतमैत्री छैनन् भन्ने मानिएका ओलीले किन झन बढि महत्व पाएका छन् ? यसको छोटकरीमा जवाफ होः ओलीको नेपाल पहिलेको भन्दा अधिक बलियो र निकै आत्मविश्वासी छ । त्यसैले नेपालसँग सावधानीपूर्वक तथा उत्तरदायी ढंगले पेश हुनु भारतको दायित्वभित्र पर्छ ।

पछिल्ला केही वर्षमा नेपाली राजनीतिमा आएको परिवर्तन

पहिल्ला केही वर्षहरुमा नेपालको राजनीतिमा निकै ठूलो परिवर्तन आएको छ । नेपाल साम्राज्यवादी संक्रमणबाट उदाएको देखिन्छ । जसक्रममा करिव एक दशकसम्म नेपाली राजनीतिले उथलपुथल भोग्यो ।

नेपालमा प्रधानमन्त्री पद यसका हकदारहरुका लागि म्युजिकल चेयर जस्तो बन्यो, जो सक्छ उ बस्ने । अस्थिर राजनीतिक परिदृश्यका बीच नेपालको अर्थतन्त्र पनि संघर्षपूर्ण नै रहेको थियो । र, विदेश नीतिको मामिलामा राजनीतिक रंगको आधारमा नेपाल कि त भारतमैत्री वा चीनमैत्री बन्न पुग्यो ।

भूकम्पका बेला भारतको देखावटीपना र कथित नाकाबन्दी

पछिल्ला केही वर्षहरुमा नै नेपाल र भारतबीचको सम्बन्धमा पनि ठूलो परिवर्तन आयो । २०७२ सालमा नेपालमा भूकम्प गएका बेला भारतले देखाएको देखावटीपना र नेपालमा नयाँ संविधान जारी हुँदा नयाँ दिल्लीले लगाएको कथित नाकाबन्दी नेपाली जनताले रुचाएनन् । नेपाली जनताको मानसिकतामा यी घटनाबाट भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भान भयो । जसको असर सामाजिक सञ्जालको यो युगमा निकै धेरै र लामो समयसम्म परिरह्यो ।

चीनको रणनीतिक ‘ओबीओआर’ कार्यक्रम

अर्को छ चीनले अघि सारेका रणनितिक वान बेल्ट वान रोड (ओबीओआर) कार्यक्रम अथवा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) । नेपालले अन्य दक्षिण एशियाली राष्ट्रहरुले झै यो कार्यक्रममा सहभागी हुन धेरै सोँच्नु पर्ने उपयुक्त ठानेन । यो नेपालकै राष्ट्रिय हित छ भन्ने उसलाई लाग्यो ।

नेपालले विदेशी मामलामा यसरी स्वतन्त्र भएर सोँच्न लाग्दा भारत अचम्मित भएको थियो तर एक स्वतन्त्र राष्ट्रको नाताले नेपालले आफूलाई उपयुक्त लाग्ने बाटो अपनाउन सक्थ्यो । भारतको आफ्नो छिमेकी राष्ट्रमाथिको छायाँ चिनको ओबीओआर कार्यक्रमले छोट्याइदियो ।

सुशील कोइरालाको निधन, जो भारतका साथी थिए

अर्को कारण भनेको २०७२ साल माघमा सुशिल कोइरालाको निधन हुनु पनि हो । नेपाली राजनीतिमा उनी मध्यम व्यक्तित्व थिए भने भारतमैत्री नेपाली काँग्रेसका सभापति थिए । उनको मृत्युले पार्टीको नेतृत्व र सफलतामा संकट पैदा मात्रै गरेन, भारतले छिमेकी राष्ट्रमा विश्वासिलो सहयोगी पनि गुमायो । कोइरालाले भारत र पाकिस्तानको बीचमा सक्रिय पुलको पनि भूमिका निर्वाह गरेका थिए, जतिबेला काठमाडौँमा भएको सार्क सम्मेलनमा भारत र पाकिस्तानबीच आँखामा आँखामा जुधाएर हेर्ने अवस्था पनि थिएन ।

यस्तो सन्तुलित व्यक्तित्वको अभावले नेपाली राजनीतिमा ध्रुवीकरण हुने देखियो जुन भारतका लागि शुभ संकेत थिएन । किनकी भारतले समग्रमा नेपाली जनताको विश्वास जित्न चाहेको थियो ।

नेपाली राजनीतिमा बाम गठबन्धनको प्रभुत्व

अर्को सबैभन्दा महत्वपूर्ण कारण भनेको गत वर्षको अन्तमा भएको चुनावमा बाम गठबन्धनले ठूलो विजय हासिल गर्नु हो । यसको अर्थ ओलीसँग मजबुत जनादेश छ, जुन पहिलेको परिस्थिति भन्दा विल्कुल फरक हो । यसैकारणले पनि ओलीले राष्ट्रवादी मार्गलाई अवलम्बन गर्नुपर्नेछ किनकी उनी आफ्ना मतदाताको विश्वासलाई सम्मान गरेर अघि बढ्न बाध्य छन् ।

ओलीले भारत भ्रमणका क्रममा नेपालको हितविपरित हुने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिन भनेर विनाकारण भनेका होइनन् । नेपालसँग सयौँ वर्ष लामो सम्बन्ध भएको राष्ट्रको भ्रमणमा जानुअघि प्रधानमन्त्रीले यस्तो वाचा गर्नु रोचक छ । तर यो नै प्रजातन्त्रको शक्ति हो जसको आत्मसात गर्ने दिशामा छ, नेपाल । भारतमा बीजेपीको प्रभुत्व भएजस्तै नेपालमा बामपन्थी अथवा कम्युनिष्ट पार्टीको प्रभुत्व छ । र यो कुरा सजिलै बुझ्न सकिन्छ कि एकढिक्का बनेको राजनीतिक शक्तिले देशको राष्ट्रिय चासोलाई कसरी सेवा गर्दछ ।

यहाँ यो पनि उल्लेख गर्न युक्तिसंगत होला कि ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि पहिलो विदेशी विशिष्ट व्यक्तित्वको रुपमा काठमाडौँमा पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीसँग भेट गरेका थिए ।

भारतीय पर्यवेक्षकहरूका लागि ओलीको सो कार्य अनुचित थियो किनकी भारत र पाकिस्तानबीचको सम्बन्ध स्वस्थ छैन । तर ओली र नेपालको दृष्टिकोणमा भने नेपालले विदेश नीतिमा सधैँ भारतलाई श्रेष्ठ मान्दैन भन्ने स्पष्ट पार्न त्यो एक कुशल तथा सुवर्ण अवसर थियो । साथै, आर्थिक सहजताका लागि भारतसँग मात्रै निर्भर नभई बंगलादेशसँग पनि सम्बन्ध विकासको प्रयास गर्न नेपालको नागरिक सङ्गठन भित्रबाट चर्को दबाब छ ।

यस्ता विविध कुराहरुले नेपाली राजनीतिलाई उच्च बनाएको छ र नागरिक समाज पनि आफ्नो देशको पहिचानलाई आफ्ना ठूला छिमेकीहरू राष्ट्रको छायाँबाट माथि उठाउन प्रयासरत छन् । चीन भन्दा बढी भावनात्मक रूपमा नेपाल नै नजिक रहेकाले पनि भारतले यो सत्यलाई आत्मसाथ गर्नु जरुरी छ ।

भारतले नेपाल नीति परिवर्तन गर्ने समय

यदि भारतले दक्षिण एशियामा आफ्नो प्रभावलाई कायम राख्न चाहन्छ भने साना राष्ट्रहरुप्रतिको नीति परिवर्तन गर्ने यो नै महत्वपूर्ण समय हो । चिनको तीब्र रुपमा बढ्दै गएको प्रभावलाई आत्मसाथ गर्दै भारतले यो सत्यलाई स्वीकार गर्नु जरुरी छ कि पहिले झैँ दक्षिण एशियामा भारतले अधिकार जमाउन सक्दैन र चिनियाँ महत्वाकांक्षासँग प्रतिष्पर्धा गर्ने वा आत्मरक्षा गर्ने भारतसँग आर्थिक तथा सैन्य क्षमता छैन ।

भारत अबपछि हटेर केही यस्ता महत्वपूर्ण कदमहरु चाल्न आवश्यक छ । जस्तो कि साना या ठूला सबै छिमेकी राष्ट्रहरुसँग समान रुपमा सम्वाद र आपसी सहयोगको सोँचलाई अवलम्बन गर्ने ।

प्रधानमन्त्री ओलीको लागि भारतलाई बेवास्ता गर्नु महंगो हुन सक्ला तर समय आए उनले आफ्नो देशको हितलाई नै महत्व दिन सक्छन्, जसले भारतलाई निराश बनाउनेछ । प्रजातन्त्र भनेको यस्तो भयंकर शक्ति हो जुन कुनै एक व्यक्तिको इच्छा अनुसार चल्दैन भन्ने सत्यलाई दिल्लीले आत्मसाथ गर्नु आवश्यक छ । भारतले नयाँ नीतिगत परिप्रेक्ष्य अवलम्बन गर्नु अघि नेपालले चाहेको स्वतन्त्रता दिनु नै बुद्धिमानी हुन्छ ।

(वान इन्डियामा प्रकाशित यो आलेख दैनिक नेपालका हेम रोकाहाबाट नेपाली अनुवाद गरिएको हो)
-दैनिक नेपाल

Comments

comments

सम्बन्धित शिर्षकहरु