प्रधानमन्त्री केपी ओली तीन दिने राजकीय भ्रमणमा,यस्ता छन् व्यस्त कार्यक्रम

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री केपी ओलीको औपचारिक कार्यक्रम शनिबारबाट सुरु हुनेछ । ओलीले भारतीय प्रधामन्त्री मोदीलाई शनिबार भेटपछि मात्रै सुरु हुनेछ ।

प्रधानमन्त्री ओलीले मोदीसँग सबैभन्दा धेरै समय व्यतित गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोदीसँग ओलीले तीन पटक भेट गर्ने कार्यक्रम छ । ओली शुक्रबार बिहान १०ः ४५ मा नेपाल वायुसेवा निगमको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने जनाइएको छ ।

भारत सरकारले शनिबार बिहान प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेपछि भारत सरकारले गार्ड अफ अनर दिनेछ । ओलीले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर पुष्पगुच्छा चढाउने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने राजकीय भ्रमण गर्न लागेका हुन् । गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको यो नै पहिलो विदेश भ्रमण हो । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित तीन मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सम्बन्धित मन्त्रालयका सचिव, सरकारी तथा निजी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी हुनेछन् ।

भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ जानेछन् । भ्रमण टोलीमा उद्योगी व्यवसायी र कलाकारको प्रतिनिधिसमेत समावेश छन् । सानो टोली मात्र सरकारी खर्चमा जानेछन् भने अन्य सदस्य आफ्नै खर्चमा जाँदै छन् । भारत बसाइँको क्रममा कुनै नयाँ सन्धिसम्झौता गर्नेभन्दा पनि भएका सन्धिसम्झौता कार्यान्वयनका लागि जोड दिने प्रधानमन्त्री ओलीले यसअघि नै स्पष्ट पारिसकेका छन् ।

मोदीले ओलीको स्वागत र सम्मानमा दिवाभोज राखेका छन् । दिवाभोजपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकया नायडुलाई क्रमशः भेट गर्नेछन् । ओली–मोदीबीच वीरगञ्जको अलौस्थित संयुक्त भन्सार जाँचचौकी (आइसीपी)को उद्घान र ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा स्वीच अन गर्ने कार्यक्रम तय भएको छ ।

ओली र मोदीबीच एक्लाएक्लै छलफल पनि हुनेछ । त्यो छलफल नेपाल र भारतबीच यसअघि भएको सम्झौताहरू कार्यान्वयन र सम्बन्धलाई नयाँ ढंगबाट कसरी लैजाने भन्नेमा केन्द्रित हुनेछ ।

प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायत मोदीको मन्त्रीमण्डलका सदस्यहरूले भेट गर्नेछन् । भारतसँगको विगतका सम्झौता पञ्चेश्वर बहुउद्देश्य आयोजना कार्यन्वयनमा नेपाली जोड दिने तयारी गरेको छ । त्यसका लागि डिपिआरलाई अन्तिम रुप दिन भारतसँग विशेष छलफल हुनेछ ।

भारतले गरेको पुनर्निर्माणको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गर्ने, रेलमार्गको विकास र विस्तार गर्ने र जलमार्गको विषय उठाउने, ग्यास बुलेटको समस्या अन्त्य गर्ने, हुलाकी राजमार्ग निर्माण गर्न जोड दिने, उर्जा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग कायम राख्ने, कृषिको आधुनिकीकरणमा साझेदारी गर्ने जस्ता एजेण्डा बोकेर भारत जान लागेको बताएका थिए ।

नोट बन्दीका कारण नेपालका बैंकमा थुप्रिएको भारतीय पाँच सय र एक हजारको नोट सटही गर्ने विषय पनि नेपाली पक्षले भारतीय पक्षसँग उठाउने तयारी गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सिधै राष्ट्रपति भवनमा पुग्नेछन् । ओलीका लागि भारतीय सरकारले बासको व्यवस्था राष्ट्रपति भवनमा गरिदिएको छ ।

एकै छिनको आरामपछि ओलीले करिब १२ः४५ मा भारतीय विदेश मन्त्रालय, फिक्कीसिआईआई र अशोचमले संयुक्त रुपमा आयोजना गर्ने इन्डिया नेपाल विजनेस फोरमलाई होटल ताज पुगेर सम्बोधन गर्नेछन् ।

अपरान्ह ५ः३० बजे प्रधानमन्त्री ओली भारतस्थित नेपाली समुदाय तथा नेपाली राजदूतावासद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न राजदूतावास पुग्नेछन् । नेपाली समुदायले भारतमा बस्दा, व्यापारव्यवसाय गर्दा वा अध्ययन गर्दा भोग्नुपरेको पीडा प्रधानमन्त्री ओली समक्ष व्यक्त गर्नेछन् ।

साँझ ७ः३० बजे प्रधानमन्त्री ओलीलाई सम्मानस्वरुप नेपाली राजदूतावासले रात्रिभोजको कार्यक्रम राखेको छ । आइतबार बिहान प्रधानमन्त्री ओली विशेष विमानबाट उत्तराखण्डस्थित डा.गोविन्दबल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागि हुनेछन् । उक्त विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु