‘सरकार र प्रतिनिधिसभाले राष्ट्रिय सभालाई भूमिकाविहीन बनाउन सक्ने चिन्ता’

काठमाडौं । राष्ट्रिय सभाको भूमिका कसरी प्रभावकारी बनाउने विषयमा सांसदहरूले गृहकार्य थालेका छन् । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको बुधबार बसेको बैठक भविष्यमा सभाको प्रभावकारिताकै सन्दर्भमा केन्द्रित भएको थियो ।

बैठकमा समितिका सदस्यहरूले सरकार र प्रतिनिधिसभाले राष्ट्रिय सभालाई भूमिकाविहीन बनाउन सक्ने भएकाले शुरुदेखि नै प्रभावकारी बन्ने पहल थाल्नुपर्ने राय व्यक्त गरेका थिए । नियमावली बनाउने बेलैमा प्रभावकारी भूमिका तय गरेर अघि बढ्नुपर्ने सदस्यहरूको सुझाव छ ।

त्यसका लागि राजनीतिक तहबाटै निर्णय आवश्यक भएकाले प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षदेखि दलका शीर्ष नेतासँग पनि छलफल गर्नुपर्ने समितिको निष्कर्ष छ । झन्डै डेढ दशकपछि राष्ट्रिय सभाको अभ्यास हुन लागेकाले त्यसको कामकारबाही र प्रभावकारिताबारे सदस्यहरूमा चिन्ता देखिएको हो ।

२०४७ सालको संविधानले दुई सदनात्मक व्यवस्थापिका व्यवस्था गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुइटा सदन थिए । माथिल्लो सदन राष्ट्रिय सभाले २०४८ देखि ०५९ सम्म काम गरेको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार ०६४ र ०७० सालमा दुई पटक संविधानसभा निर्वाचन भए पनि त्यसमा माथिल्लो सभाको व्यवस्था थिएन ।

नियमावली समितिका सदस्य सांसद राधेश्याम अधिकारीले राष्ट्रिय सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सैद्धान्तिक छलफल भएको बताए ।, कान्तिपुरमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु