के हो वेद ? वेदबारे जान्नैपर्ने कुरा,चारै वेदको संक्षिप्त परिचय

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो ।

वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक–अर्काबाट सुनेर सम्झना राखियो । यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिकरश्रुति, श्रवण परम्पराको अनुपम कृति हो, जुन पिढीँ दर पिढीँ चार–पाँच हजार वर्षदेखि चल्दै आएको छ । वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

वेदहरूको महत्व

हिन्दू संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म–ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।

मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरू भन्दा प्राचीन कुनै पुस्तक छैन ।

आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायकसिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन, मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि यही हो । वेद विद शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसको अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएको ज्ञान भन्ने हुन आउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएको ज्ञान मार्ग ।

वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणेस्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन्, जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ.पू. १८०० देखि इ.पू. १५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् ।

वेदलाई श्रुति पनि भनिन्छ । ‘श्रु’ धातुबाट श्रुति बनेको छ । ‘श्रु’ अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं ईश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य ।

वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो, जुन पछिल्लो ६, ७ हजार इसापूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन्, त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ । जसले सस्वर वेद पाठ सुन्छन्, ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छ :

ऐतरेय, तैत्तिरीय र शतपथ । आरण्यक पनि वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मूख्य आरण्यक यसप्रकार छन् : ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार ।

उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा ईश्वर, सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएको छ । उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ । तर, हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन् : ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य, बृहदारण्यक र श्वेताश्वेर ।

असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दश, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्रोफेसर विन्टरनिट्जले वैदिक साहित्यको रचनाकाल २००० देखि २५०० इसापूर्व मानेका छन् । तर, खासमा वेदको रचना कुनै एक निश्चित कालखण्डमा भएको होइन । अर्थात् यो त बिस्तारै बिस्तारै रचना हुँदै गयो र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियो, जसमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन भयो । यसलाई ‘वेदत्रयी’ पनि भनिन्छ ।

सनातन मान्यताअनुसार वेदको विभाजन रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको हो । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदको रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णको समय द्वापर युगको समाप्तिपछि महर्षि वेदव्यासले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् ।

उनले यी चार भागको शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको जिम्मेवारी दिए । यसको आधारमा भन्दा वेद लिखित रूपमा आजभन्दा ६५०८ वर्ष पुरानो ग्रन्थ हो । यसलाई पनि सोझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण आजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएको तथ्य फेला परिसकेको छ ।

वेदका चार विभाग छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग–स्थिति, यजु–रूपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋक भनेको धर्म, यजु भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।

ऋग्वेद
वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको छ । यी मन्त्रले देवताहरूलाई यज्ञमा आह्वान गर्दछन् । यसका पाँच शाखा छन् : शाकल्य, वास्कल, आश्वलायन, शांखायन र मण्डूकायन । ऋग्वेदमा मृत्युनिवारक त्र्यम्बक मन्त्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ । विश्वविख्यात गायत्री मन्त्र (३/६२/१०) पनि यहीँ छ । ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी सूक्त, तत्वज्ञान सूक्त, संस्कार सूक्त विद्यमान छन् । रोगनिवारक सूक्त (१०/१३७/१—७), श्रीसूक्त वा लक्ष्मीसूक्त (खिलसूक्त), नासदीय सूक्त (१०/१२९/१—७) तथा हिरण्यगर्भ सूक्त, विवाह सूक्त आदिको वर्णन छ जसमा ज्ञान र विज्ञानको चरमोत्कर्ष देख्न पाइन्छ ।

सामवेद
सामवेद मा गाउन मिल्ने छन्दहरू छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस वेदमा १८२४ मन्त्र छन् र ७५ मन्त्रबाहेक अन्य सबै ऋग्वेदबाट नै लिइएका हुन् । तैपनि यसको आफ्नै विशिष्ट महत्व छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले ‘वेदानां सामवेदोsस्मि’ भनेर यसको महत्वलाई उजागर गर्नुभएको छ । सामवेद आकारमा सानो भएपनि यो सबै वेदको सारस्वरूप रहेको छ र सबै वेदका प्रमुख अंश यसमा परेका छन् । सामवेद ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी हो । यो वेदलाई संगीतशास्त्रको मूल मानिन्छ । यसमा सविता, अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको छ । यसमा यज्ञमा गाउनका लागि संगीतमय मन्त्र राखिएका छन् । मुख्यतः गन्धर्वहरूले यसको गान गर्छन् । यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र संगीतशास्त्रलाई प्रधान बनाइएको छ ।

यजुर्वेद
यसमा यज्ञको असल प्रक्रियाका लागि गद्य मन्त्र समावेश गरिएको छ । विशेषगरी क्षेत्रीहरूका लागि यो वेद महत्वपूर्ण छ । यजुर्वेदका दुई शाखा छन् । नेपाल र उत्तर भारततिर शुक्लयजुर्वेद अनि दक्षिण भारततिर कृष्णयजुर्वेद प्रचलित छ । यसमा ४० अध्याय छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो । यसमा अग्निहोत्र, अश्वमेध, वाजपेय, राजसूय, अग्निचयन लगायतका यज्ञको विस्तृत विवरण दिइएको छ । विश्वविख्यात गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र यसमा पनि पाइन्छन् । यसमा दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय पनि समाविष्ट छन् ।

अथर्ववेद
यसमा देवताहरूको स्तुतिका साथसाथै जादूसँग सम्बन्धित मन्त्र र तन्त्र, राक्षस, पिशाच जस्ता भयानक शक्तिका बारेमा वर्णन गरिएको छ । यसका अलावा यसमा चिकित्सा, विज्ञान र दर्शन सम्बन्धी मन्त्रहरू पनि पाइन्छन् । भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन् । मुख्यतया व्यापारीहरूका लागि यो वेदको महत्व छ । यसमा २० काण्ड छन् ।

 

छ वेदाङ्ग
वेदका छ अंग छन्, (१) शिक्षा, (२) छन्द, (३) व्याकरण, (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प ।

छ उपाङ्ग
(१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक । माथि उल्लिखित छ वटा उपाङ्ग ग्रन्थहरू उपलब्ध छन् । यसैलाई षड्दर्शन भनिन्छ जुन यसप्रकार छन्, सांख्य, योग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त । त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन् ः ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद ।

Comments

comments

सम्बन्धित शिर्षकहरु