ध्यानले बढाउँछ खुसी

मानिस केले खुसी हुन्छ? खुसीका मापन अनि सीमा के–के हुन्? लामो समयदेखि यी दार्शनिक जिज्ञासामाथि बहस अनि घोत्ल्याइँ जारी छ।
पछिल्लो समय विज्ञानले खुसीका आयामबारे अनुसन्धान व्यापक बनाउँदै लगेको छ अमेरिकी न्युरोवैज्ञानिक डा. रिचर्ड डेभिड्सनले ध्यानको माध्यमबाट मस्तिष्क (ब्रेन) लाई तालिम दिएर मानिसमा खुसी सञ्चार गर्न सकिने बताएका छन्।

‘आफूलाई खुसी राख्न सक्नु एक प्रकारको कला हो,’ अध्ययनका क्रममा नेपाल आएका युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनको ‘सेन्टर फर हेल्दी माइन्ड’ का संस्थापक तथा निर्देशक डेभिड्सनले नागरिकसँग भने, ‘खुसी तथा स्वस्थ रहनका लागि मस्तिष्कलाई दिइने तालिम अन्य आधुनिक अभ्यासभन्दा फरक छैन। त्यसका लागि ध्यान महत्वपूर्ण औजार हो । जुन व्यक्तिले यसको नियमित अभ्यास गर्छ, उसले नगर्दाभन्दा पक्कै बढी खुसी अनुभव गर्छ।

डेभिड्सनका अनुसार मानिस खुसी रहन चार तत्व आवश्यक पर्छन्। ती हुन्– मानसिक लचक (रिजिलियन्स), सकारात्मक दृष्टिकोण (पोजेटिभ आउटलुक), सचेतना (अटेन्सन) र उदारमन (जेनरोसिटी)। यी तत्व जागृत गराउन ध्यानको महत्वपूर्ण भूमिका हुने उनको बुझाइ छ। ध्यान तथा सूक्ष्म व्यायामको नियमित अभ्यासले स्नायु प्रणालीको ‘न्युरल सर्किट’ लाई सक्रिय बनाउँछ, जसले गर्दा ‘ब्रेन’ को ‘प्लास्टिसिटी’ (नरमपना) वृद्घि भई यसले सिर्जनशीलतासमेत बढाउँछ।

प्रसन्न र स्वस्थ व्यक्तिको ‘न्युरल सर्किट’ चुस्त हुने भएकाले अप्ठ्यारो परिस्थितिसँग जुध्ने क्षमता बढ्न सक्छ। ‘‘रिजिलियन्स’ यस्तो सामथ्र्य हो, जसले चुनौती छिचोल्दै जीवनलाई गतिशील बनाउँछ,’ उनले भने।

मानिसमा सकारात्मक सोच बढाउन प्रेम–दया (लभिङ काइन्डनेस) र करुणा–ध्यान (कम्प्यासन मेडिटेसन) ले महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ। ‘दुई सातासम्म नियमित दैनिक आधा घन्टा ध्यान व्यक्तिको मस्तिष्कमा क्रमिक रूपमा परिवर्तन देखिन थाल्छ, जति बढी अभ्यास ग¥यो, जीवन रुपान्तरणतर्फ अगाडि बढ्छ,’ अनुसन्धानको निचोड छ।

खुसीका लागि नभई नहुने सचेतना (अटेन्सन) को विकास गर्न व्यावहारिक अभ्यास थालिएको छ। जब कुनै व्यक्तिले करुणा र मैत्रीपूर्ण व्यवहार गर्छ, त्यसले ‘न्युरल सर्किट’ सक्रिय बनाउँछ, जुन खुसी हुनका लागि अनिवार्य सर्त हो।

ध्यानको निरन्तर अभ्यासपछि मस्तिष्कले नयाँ ‘ट्र्याक’ लिने र यसले जीवनमा उच्चतम खुसी ल्याउने डेभिड्सनको निष्कर्ष छ। युनिभर्सिटी अफ विस्कन्सिन, म्याडिसनको प्रयोगशालामा गरिएको अनुसन्धानअनुसार साधारण माइन्डफुलनेस ध्यानको नियमित अभ्यासले मस्तिष्कको ‘सर्किट’ मा परिवर्तन देखिएको थियो। ‘जीवनमा साँच्चिकै सुख, शान्ति र खुसी महसुस गर्न भने लामो अवधि ध्यानको अभ्यास गर्नुपर्छ,’ उनले भने।

साइकोलोजी तथा साइकियाट्रीका प्राध्यापक डेभिड्सनका ‘द इमोसनल लाइफ अफ योर ब्रेन’, ‘द माइन्डस् ओन फिजिसियन’ जस्ता चर्चित किताब प्रकाशित छन्। लामो समयदेखि न्युरोसाइन्स र ‘मेडिटेसन’सम्बन्धी अनुसन्धान गर्दै आएका उनले चार दशकदेखि ध्यानको अभ्याससमेत गर्दै आएका छन्। आफू ‘न्युरोसाइन्टिस्ट’ भए पनि ध्यानले मस्तिष्कमा कस्तो असर गर्छ भन्ने विषयप्रति चासो भएकाले प्रत्यक्ष अनुभवका लागि ध्यान गरेको उनको दाबी छ। ‘ध्यानबाट प्राप्त हुने अनुभवले मलाई वैज्ञानिक खोजलाई अझै गहिराइमा पु¥याउन मद्दत गरेको छ,’ उनले अनुभव बाँडे।

दलाई लामाको प्रेरणाले ‘न्युरोसाइन्स’ र ध्यानसम्बन्धी अनुसन्धान अगाडि बढाएको डेभिड्सनले बताए। सात वर्षअघि डेभिड्सन र उनको टिमले ध्यान अवस्थामा बौद्घ भिक्षुको मस्तिष्कको अवस्था कस्तो हुन्छ भनी अनुसन्धान गरेको थियो। इइजी, एमआरआई र एफएमआरआईको सहायताबाट ‘ब्रेन स्क्यान’ गर्दा अन्य साधारण व्यक्तिको भन्दा ध्यान गर्ने व्यक्तिको मस्तिष्कको तरंग फरक पाइएको थियो। सतिध्यान (माइन्डफुलनेस), करुणा (कम्प्यासन) र संज्ञानात्मक उपचार (कोग्न्याटिक थेरापी) लगायत विषयमा उनका दर्जनौं अनुसन्धानमूलक लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा छापिएका छन्। नागरिक दैनिकबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु