डा बाबुराम भट्टराईको नजरमा स्टेफन हकिङ

मेरो जीवनको ठूलो जिज्ञासा र लगाव के रह्यो भने ब्रह्माण्ड के हो, यसको उत्पत्ति कसरी भयो रु बच्चा हुँदा घरको बार्दलीमा सुतेर आकाशतिर टोलाएर यी तारा के हुन् भन्ने कौतूहल हुन्थ्यो। जब स्कुल र कलेजमा विज्ञान पढ्न थालियो, यो भौतक जगत् कसरी उत्पत्ति भयो भन्ने बुझ्ने अवसर भयो। मेरो एकखालको रुचि नै ब्रह्माण्ड ९कस्मोलोजी० विषयमा अध्ययन गर्ने रह्यो।

म चण्डीगढमा आर्किटेक्चर पढ्दा फुर्सदको समयमा पुस्तकालय गएर ब्रह्माण्डको उत्पत्तिबारे अध्ययन गर्थेँं। त्यही क्रममा १९८८ मा स्टेफन हकिङको किताब ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’ प्रकाशित भयो, जसले विश्व रेकर्ड बनायो। प्रकाशित भएको एकदुई वर्षमै मैले त्यो पुस्तक पढेँ। यही किताबदेखि मैले उनलाई चिनेँ। हामी को हौं, ब्रह्माण्ड के हो, मानवजाति कसरी आयो यो किताबले बुझाउँछ। अन्धविश्वासमा आधारित भएर भगवान्ले ब्रह्माण्ड सिर्जना गरेको भनेर बुझ्दै आएका हामीलाई भौतिकजगत् वास्तवमा कुन नियमले उत्पत्ति भएको रहेछ भन्ने यसले सिकाउँछ।

ब्रह्माण्डको बिगब्याङ

आइन्स्टाइनको ‘जनरल थ्योरी अफ रिलेटिभिटी’ अर्थात् सापेक्षताको सिद्धान्तले नै स्पेस ९देश० र टाइम ९काल० को ‘क्वान्टिनियम’ ९एकरूपता०को रूपमा संसारलाई बुझ्न सिकाएको हो। ब्रह्माण्डको अध्ययन गर्दै जाने क्रममा ६०र७० को दशकमा भौतिकशास्त्रीहरूले ‘बिगब्याङ थ्योरी’ आविष्कार गरे। योे सिद्धान्त भन्छ कि आजभन्दा १३।७ अर्ब वर्षपहिले एउटा ठूलो धमाकाको रूपमा ब्रह्माण्ड बन्यो। त्यसैमा आधारित भएर स्टेफिन हकिङले पहिला अक्सफोर्डमा र पछि क्याम्ब्रिजमा यस विषयमा अझ गहन अध्ययन गरे। उनले आफ्नो थेसिसको विषय पनि ब्रह्माण्डलाई नै बनाए। ब्रह्माण्डका नियमहरू अध्ययन गर्दै जाने क्रममा उनले ‘ब्ल्याक होल’ का सिद्धान्तहरू विकास गरे।

बिगब्याङदेखि ब्रह्माण्ड निरन्तर विस्तारित हुँदै जाने क्रममा त्यसका के के अन्तर्विरोध हुन्छन्, कुन कुन प्रक्रियाले अगाडि बढ्छ भन्ने कुरालाई उनले थप अध्ययन गरे र अरूले प्रतिपादन गरेका सिद्धान्तहरूलाई समेत अध्ययन गरेर सरल भाषामा ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ भनेर उनले व्याख्या गरे। आइन्स्टाइनले अघि सारेको ‘रिलेटिभिटी थ्योरी’ र बिगब्याङबाट नै ब्रह्माण्ड उत्पत्ति भयो भन्ने कुरामा आधारित भएर उनले थप अध्ययन र विकास गर्दै गए। उनका अरू पनि थुप्रै किताब निस्किए। ‘ग्रान्ड डिजाइन’ विश्व ब्रह्माण्डबारे उनले गरेको गहन अध्ययनको अर्को प्रमाण हो।

विज्ञानका जुन नियमहरू आविष्कार भएका छन्, यी निश्चित अवधिमा नयाँ ज्ञानमा पुगेर विज्ञानले पनि फड्को मार्छ। ग्यालिलियो र न्युटनले सामान्य भौतिकीका नियमहरू पत्ता लगाए। खासगरी गुरुत्वाकर्षणको शक्ति, इलेक्ट्रो म्याग्नेटिक वेभ, विक एन्ड स्ट्रोङ फोर्सका कुराहरू आए। यी फोर्सहरू कसरी काम गर्छन् र विश्व ब्रह्माण्डमा हामी जे देख्छौं, त्यसका नियमहरू के के हुन्छन् भन्ने कुराको अत्यन्त जटिल खालका सिद्धान्त र नियमहरू त्यहाँ छन्।

न्युटनको पालाको विज्ञान आइन्स्टाइनसम्म आउँदा मेकानिकल मोसन (यान्त्रिक गति) को जुन थ्योरी थियो, त्यसलाई उनीहरूले स्पेस र टाइमको समग्रतामा सापेक्षताको सिद्धान्तमा विकास गरे। यसले गर्दा सूक्ष्म होइन कि एउटा स्थूल ब्रह्माण्डको विकासको नियम आइन्स्टाइनको सिद्धान्तले प्रतिपादन गर्‍यो। विश्व ब्रह्माण्डका ठूल्ठूला तारापुञ्जहरू कसरी उत्पत्ति हुन्छन्, कसरी विस्तारित हुँदै जान्छन्, कुन फोर्सले विस्तार गर्दै लान्छ, कसरी टक्कराउँछन्, कसरी मर्छन् जस्ता विषयमा हकिङले खोजी गरे। हामीले आकाशमा तारा देख्छौं तर सँगै धेरै ठाउँ त खाली देख्छौं। त्यसलाई पहिले खाली हो भनेर बुझिन्थ्यो। पछि त्यो पनि इनर्जी (शक्ति) हो भनेर आइन्स्टाइनले इनर्जी र म्याटर (पदार्थ) को सम्बन्धमा सापेक्षताको सिद्धान्त प्रतिपादन गरे।

नियमको अन्तरविरोध

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले स्थूल ब्रह्माण्डको विकासको नियमलाई व्याख्या गर्‍यो। तर, त्यसको सँगसँगै उनका समकक्षी म्याक्स प्ल्यांकले सूक्ष्म जगत्को विकासको नियमचाहिँ के हुन्छ त भनेर खोज गरे र क्वान्टम थ्योरी विकास गरे। परमाणु, क्वार्क आदि पदार्थका सूक्ष्म रूपलाई जति पनि टुक्रा बनाउन सकिन्छ भन्ने पत्ता लाग्दै जान थालेपछि त्यसमा पनि उनीहरूले ‘क्वान्टम थ्योरी’ विकास गरे। ‘क्वान्टा’ सानो कणको रूपमा रहिरहेको हुन्छ। त्यसको मोसन (गति) को नियम अलि फरक खालको हुन्छ। ठूला स्थूल ग्रहहरू गुरुत्वाकर्षणको शक्तिको आधारमा परिचालित भइरहेका हुन्छन्, जुन सूक्ष्म अणु–परमाणु र क्वार्कहरू फेरि गैरगुरुत्वाकर्षित फोर्सहरू र इलेक्ट्रो म्याग्नेटिक तथा विक एन्ड स्ट्रोङ फोर्सबाट परिचालित हु्न्छन् भनेर म्याक्स प्ल्यांकले क्वान्टम थ्योरी प्रतिपादन गरे। आइन्स्टाइनको जेनेरल रिलेटिभिटीले स्थूल संसारको गतिको नियम दियो र क्वान्टम थ्योरीले सूक्ष्म संसारको गतिको नियम दियो।

यी दुवैको अध्ययन गर्दै जाँदा त्यहाँ अन्तरविरोधहरू देखिए। स्थूल र सूक्ष्मको नियम मेल खानुपथ्र्यो। आखिर उनीहरूको उत्पत्ति एकै ठाउँबाट भइसकेपछि उही पदार्थ र शक्ति एकअर्कामा रुपान्तरित हुनुपर्ने हो। अर्थात् सूक्ष्म र स्थूल दुवैको विकासको नियम उस्तै हुनुपथ्र्यो। तर, त्यहाँ अन्तरविरोध देखा पर्‍यो। ब्रह्माण्डको नियममा कयौं अपुग देखियो। आइन्स्टाइनले जे बुझे र म्याक्सले जे बुझेका छन्, ती दुईवटा गतिको नियममा अन्तरविरोध परिराखेको छ। त्यसकारण हकिङले बुझे कि अर्को कुनै नियम हुनुपर्छ जसले विश्व ब्रह्माण्डको पदार्थको गतिको नियमलाई समग्रतामा व्याख्या गर्न सकोस्। त्यसलाई सम्बोधन गर्न उनले ‘थ्योरी अफ एभ्रिथिङ’ ल्याए। यसै नाममा उनले छुट्टै पुस्तकसमेत प्रकाशित गरे।

यो अझै पूर्ण त भएको छैन तर उनले इलेक्ट्रो म्याग्नेटिक वेभ्सका आधारमा चल्ने क्वान्टम थ्योरी र जनरल रिलेटिभिटीका आधारमा चल्ने थ्योरी अफ ग्राभिटेसनबाट ‘क्वान्टम ग्राभिटी’ भन्ने शब्द आविष्कार गरे। यो परीक्षणको क्रममा छ। ठूल्ठूला आविष्कारहरू अवधारणाका रूपमा जन्मिछन्। पछि थुप्रै अनुसन्धान गर्दै गएपछि बल्ल त्यो सिद्धान्तमा परिणत हुन्छ। ब्रह्माण्डमा मेरो गहिरो अध्ययन पुगेको छैन तर मानिसको ज्ञानको क्षितिज र विज्ञानका नियमलाई उनले विकास गरेका छन्। उनी आइन्स्टाइनपछिका सबैभन्दा ठूला वैज्ञानिक हुन्। त्यसो त अरूले पनि भौतिकशास्त्रमा कामहरू गरिरहेकै छन्।

मानवीय हिंसाले पनि उनी सचेत थिए। उनी प्रगतिशील सोचको पक्षमा उभिएको देखिन्छ। उत्पीडितहरूका पक्षमा र सामाजिक मुद्दाहरूमा पनि उनी बोलिरहेका हुन्छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ट ट्रम्पले जितिसकेपछि उनले अमेरिकी छनोटबारे टिप्पणी थिए। उनका किताबहरू पढ्नुभयो भने अत्यन्त ठट्टा पनि गरिरहेका हुन्छन्। विज्ञान र वैज्ञानिक शुष्क हुन्छ भनिन्छ। तर, उनी कति ठाउँमा जोक गरिरहेका भेटिन्छन्। ५४ वर्ष त मस्तिष्कसम्बन्धी रोग लागेर उनी ह्विल चेयरमै हिँड्नुप‍र्‍यो। र, पनि जीवनप्रतिको सकारात्मकता, निरन्तर खोज र जिज्ञासा सधैं सान्दर्भिक रहनेछन्।

एक आदर्श व्यक्तित्व र हाम्रो जीवनकालका अत्यन्त विलक्षण वैज्ञानिकका रूपमा स्टेफन हकिङलाई विश्वले सम्झिरहनेछ।
उनीसमेतले विकास गरेका सिद्धान्तअनुसार हामी सबै पदार्थ र शक्तिका फरक रूपमात्र हौं। चेतना प्राप्त गरेकोले मात्र हामी मान्छे भएका हौं। अन्ततः हामी फेरि त्यहीँ विलीन हुने हो। त्यस अर्थमा यो निरन्तर चक्र चलिरहन्छ। माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई यसले पुष्टि गर्छ। माक्र्सवादको राजनीतिक प्रयोगमा कमजोरी भएको छ। तर, यसको दार्शनिक पक्ष द्वन्द्वात्मक भौतिकवाद अर्थात् भौतिक जगत् पहिले उत्पत्ति भएको हो, मानिसको चेतना पछि हो भन्ने यसबाट पुष्टि भएको छ। बिग ब्याङले त्यसको पुष्टि गर्छ। द्वन्द्वात्मक अर्थात् चिज निरन्तर गतिशील र परिवर्तनशील छ भन्ने कुरा पनि यसले पुष्टि गर्छ।

निरन्तर खोज

ज्ञान र विज्ञानको खोजी अनन्त हुन्छ। यो कहिल्यै पनि टुंगिँदैन। हामीले सबै कुरा जान्यौं जस्तो गर्छौं, सबैभन्दा ठूलो अज्ञानता नै त्यही हो। सिक्नको निम्ति हामी सधैं इच्छुक र जिज्ञासु भइरहनुपर्छ, ज्ञानको भोक भइरहनुपर्छ। विश्व ब्रह्माण्ड अथाह छ तर बुझ्नै नसकिने होइन। कतिले भगवान् र ईश्वरसँग जोडेर यो बुझ्नै नसकिने छ भनिदिन्छन्, विश्व ब्रह्माण्डलाई रहस्यमय वस्तु बनाइदिन्छन्। तर यसका जटिल नियमहरू छन्, ती नियमलाई पछ्याएर यसलाई बुझ्न सकिन्छ भन्ने प्रेरणा हामी हकिङबाट लिन सक्छौं। ज्ञानको सागरमा जति डुबुल्की मार्नुहुन्छ, उति आफूलाई नजानेको पाउनुहुन्छ। त्यसैले न्युटन के भन्छन्, हामीले जे जानेका छौं, त्यो एक थोपा हो, जे थाहा छैन त्यो समुद्र हो।

प्रश्न के आउँछ भने बिग ब्याङ भयो कसरी ? कहिले भयो ? यो कुरा हाम्रो पूर्वीय दर्शनसँग पनि मिल्न जान्छ। पूर्वीय दर्शन के भन्छ भने यो शून्यबाट उत्पत्ति भएर शून्यमा अन्त्य हुन्छ। यो पनि एउटा अवधारणा नै हो। बिगब्याङलाई मान्ने हो भने ब्रह्माण्ड त यो रूपको हुँदैन। अहिलेको ब्रह्माण्ड पनि कहीँ गएर अन्त्य हुन्छ, बिस्तार पनि हुन्छ। ब्ल्याक होल सिद्धान्तअनुसार यो खुम्चिँदै पनि जान्छ। कुनै बिन्दुमा गएर यो फैलिने र खुम्चिने भइरहन्छ। यो एउटा ब्रह्माण्ड हो, यस्ता अनगिन्ती ब्रह्माण्ड छन्। त्यसैले स्पेस र टाइम (देश र काल) अन्त्यहीन छ।

पूर्वीय दर्शनले पुनर्जन्म हुन्छ भन्छ। म कहिलेकाहीँ सोच्छु, यही रूपमा त हाम्रो पुनर्जन्म हुँदैन। तर हाम्रो जुन शरीर छ, यो त शक्ति हो। यो भौतिकरूपमा देखिएको मात्र हो। मरेपछि यो फेरि शक्तिमा परिणत हुन्छ जस्तो पनि लाग्छ। यसलाई तपाईं अर्को जुनी भन्न पनि सक्नुहुन्छ। पूर्वीय दर्शनमा आत्माको अवधारणा छ। पुष्टि भएको छैन तर वैज्ञानिक आँखाले हेर्दा सृष्टि हुन्छ, इनर्जीमा मिल्छ र अर्को इनर्जीमा परिणत हुन्छ र अन्त्यहीन ढंगले यो चक्र चलेको चल्यै भइरहेको छ। दार्शनिक आँखाले हेर्ने हो भने र पूर्वीय दर्शनले भनेका कतिपय कुराहरू हावादारी होइनन् भन्ने यसले पुष्टि गर्छ भन्ने पनि लाग्छ।

१६ अर्ब वर्षपहिले यो ब्रह्माण्ड उत्पत्ति भयो, चार अर्ब वर्षपहिले सूर्यबाट पृथ्वी उत्पन्न भयो, दुई अर्ब वर्षपहिले प्रारम्भिक जीवहरू उत्पत्ति भए भनिन्छ। तपाईं कल्पना गर्नुस्, जीवहरू उत्पत्ति भएको दुई अर्ब वर्ष भइसक्यो। मान्छेका रूपमा परिवर्तन भएको एक लाख वर्ष भयो। यसरी बुझ्ने चेतना प्राप्त गरेको कति भयो ? ग्यालिलियो र कोपर्निकसहरूले ब्रह्माण्ड बुझ्न थालेको पाँच सय वर्ष पनि भएको छैन। आइन्स्टाइनहरू आएको सय वर्ष भयो। यति छोटो समयमा हामीले यो ज्ञान प्राप्त गर्दै छौं।

चेतना र भौतिकी

पछिल्ला आविष्कारहरूले हाम्रो चेतनामा प्रभाव पारिरहेको छ। हाम्रो चेतनाले भौतिकजगत्लाई असर गरिराखेको छ। किनभने हामीले बुझ्न थाल्यौं। जति बुझ्न थाल्यौं, त्यसको असर हाम्रो चेतनामा परिरहेको छ। हामी त झन् उच्चस्तरको प्राणीमा विकास भइरहेका छौं। भौतिकीको असर जिनमा पनि पर्छ। कुनै बेलाको पशु बाँदर, कसरी मान्छे भयो भन्दा कुनै खालको बिन्दुमा पुगेपछि जेनेटिकल्ली परिवर्तन भएर मान्छे भयो। हामी एक लाख वर्षदेखि यही रूपमा छौं। अबको दुई चार लाख वर्षपछि यही जिनबाट अर्को कुनै चिज निस्कन पनि सक्छ।

हामी जुन संकुचनमा बाँचिरहेका छौं, यो गलत छ। यो बुझेपछि हामी उदार हुन्छौं। ‘उदारचरितानांतु वसुधैव कुटुम्बकम्’ भनेझैं मानिस नबुझे संकीर्ण हुन्छ, ईष्र्या र डाहा लिएर बस्छ। संसार बुझ्न थालेपछि त्यसले मानिसलाई पूर्ण हुनको निम्ति मद्दत गर्छ। त्यस अर्थमा पनि हकिङजस्ता ठूला वैज्ञानिकहरूले सारा जिन्दगी नै खोजमा लगाउनुको महत्वलाई हामीले बुझ्नुपर्छ। उनीबाट सिक्नुपर्ने कुरा के हो भने थाहा नपाउँदा तपाईँलाई सबै थाहा छ जस्तो लाग्छ तर जब थाहा हुन्छ त्यसपछि अझ बढी थाहा रहेनछ भन्ने थाहा हुन्छ।

राजनीतिमा नलागेको भए सायद म भौतिकशास्त्र र ब्रह्माण्डकै अध्ययनमा लाग्थेँ होला। किनभने म बच्चैदेखि त्यसप्रति जिज्ञासु थिएँ। यो कसरी भयो भन्ने प्रश्न आउँथ्यो। हामी ६ वर्षको हुँदा नै हाम्रो मस्तिष्कको ९० प्रतिशत विकास भइसकेको हुन्छ भनिन्छ। चाहे कम्प्युटर होस् वा हाम्रो मस्तिष्क, इलेक्ट्रो म्याग्नेटिक वेभ र न्युरोनको नियम उस्तै हो। कसैले बोलेका कुराले दिमागमा स्ट्राइक गर्छ, शब्दमा परिणत हुन्छ र सञ्चार गर्छ। यो नै शक्तिको रूपान्तरण हो।

पोहोर कात्तिकमा लन्डन जाँदा हकिङलाई भेट्न कोसिस गरेको थिएँ। तर, पहिला नै समय लिनुपर्ने भएकाले सम्भव भएन। आउँदो जुनमा म उनीसँग समय लिएर भेट्ने योजनामा थिएँ। मैले उनलाई भेट्न पाएको भए पछिल्लो समय उनी कहाँसम्म पुगेका छन् सोध्ने थिएँ। विश्व ब्रह्माण्डका विभिन्न नियमहरू मिलेका छैनन्। रिलेटिभिटी र क्वान्टम मेकानिक्सकै नियम मिलेका छैनन्। विश्व ब्रह्माण्डका बाँकी हरेका रहस्यहरू बुझ्नुपर्ने के छन्, कुन दिशातिर शोध गरिरहनुभएको छ भनेर बुझ्ने कोसिसमा थिएँ।

जीवन जगत्लाई बुझ्नका निम्ति यसका गतिका जुन् नियमहरू छन्, ती नियमहरूलाई पछिल्लो बिन्दुसम्म पु‍र्‍याउन उनको ठूलो योगदान रह्‍यो। अझै नजानेका कुरा धेरै छन्। उनले आफ्नो खोजलाई कहिल्यै पूर्ण भनेनन्। उनले आफ्नो पुस्तकको अन्तिममा भनेका छन्, ‘गड नोज’ अर्थात् भगवान्लाई थाहा छ। उनले किन त्यसो भने भन्दा उनलाई थाहा भएन।

रोचक कुरा के छ भने, म्याक्स प्ल्यांक नामका वैज्ञानिक भन्छन्, धर्म र विज्ञानबीच समानता के हुन्छ भने धर्मको निम्ति भगवान् पहिला आउँछ। यो ब्रह्माण्डको सृष्टि भगवान्ले ग‍र्‍यो भनेर यो सुरु हुन्छ। तर, वैज्ञानिकका लागि भगवान् अन्तिममा आउँछ। गर्दै गयो कयौं कुरा बाँकी हुन्छ, बुझिँदैन। अनि उसले अन्तिममा पत्ता लगाउन बाँकी कुरालाई ‘गड नोज’ भनेर छोड्दिन्छ।

मानिसले जति ज्ञान प्राप्त गरेको छ, त्यसलाई मानवजातिको ज्ञानको पछिल्लो क्षितिजसम्म पुर्‍याउनका निम्ति उनले ठूलो योगदान गरे। उनलाई एक आदर्श व्यक्तित्व र हाम्रो जीवनकालका अत्यन्त विलक्षण वैज्ञानिकका रूपमा विश्वले सम्झिरहनेछ।

डा.भट्टरार्इले अन्नपूर्णसँग गरेकाे कुराकानीमा अाधारित विचार ।

Comments

comments

सम्बन्धित शिर्षकहरु