युनिभर्सिटी कप: गोल्डेनगेट र डीएभी कलेजको जित

काठमाडौं । युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताअन्तर्गत गोल्डेनगेट कलेज र डिएभी कलेजले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। बुधबार भएको खेलमा गोल्डेनगेट र डीएभी कलेजले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेट र डीएभी कलेजले जित हात पारेसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
टियू क्रिकेट मैदानमा भएको क्वाटरफाइनल डिएभी कलेजले शंकरदेव क्याम्पसलाई ८ विकेटले पराजित गर्न सफल भयो । शंकरदेवले दिएको १६९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको डीएभी कलेजले १५।३ ओभरमा नै २ विकेटको क्षतिमा लक्ष्य भेटायो । डीएभीको जितमा यु–१९ राष्ट्रिय टिमका खेलाडी आदिल खान नायक बने । उनले ७७ रन बनाए । ३५ बलको सामना गरेका आदिलले ६ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै, संजय बस्नेतले अविजित १६ बलमा ३६ रन बनाए । त्यस्तै, डीएभीका लागि सुमित महर्जनले २८ र गौरभ खड्काले २२ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । शंकरदेवका लागि प्रदीप ऐरीले २५ बलमा अविजित ५०, सुनिल धमला र आयुशमान बमले समान ४४–४४ रन बनाएका थिए । त्यस्तै बुधबार नै भएको अर्को क्वाटरफाइनलमा गोल्डेनगेट कलेजले जनता कलेजलाई ६२ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो । १७२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको जनता कलेजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०९ रनमात्रै बनाउन सक्यो । जनता कलेजका लागि अंकित आरजे र निराजन केसीले समान २६–२६ रन बनाएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । गोल्डेनगेटका लागि भुपेन्द्र थापाले ५७ रन बनाएका थिए ।
सेमिफाइनल शुक्रबार हुँदैछ । पहिलो सेमिफाइनलमा टियु ए टिमले कसमोस कलेजको सामना गर्दैछ भने दोस्रो सेमिफाइनलमा डीएभी कलेजले गोल्डेनगेट कलेजसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, उपविजेताले १ लाख नगदसहित ट्रफि पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद, बेष्ट बलर, ब्याट्सम्यान नगद १० हजार प्राप्त गर्ने छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु