दैनिक अढाई करोडअवैध सुनको काराेबार

काठमाडौं । नेपाली बजारमा दैनिक अढाई करोडको अवैध सुनको कारोबार हुन्छ । तस्करीको सुनले बजार ओगट्न थालेपछि बैंकहरूमार्फत आउने वैध सुनको कारोबार ओरालो लागेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय दैनिक कम्तीमा ५ केजी अवैध सुन बिक्री भइरहेको छ । यो परिणाम अघिल्ला दुई वर्षको तुलनामा भने निकै कम हो । आर्थिक वर्ष ०७१/७२ मा दैनिक २०.१३७ केजी (अनुपातमा) सम्मको अवैध सुनको कारोबार भयो । जसको मूल्य सोमबारको बजारभाउ अनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय ४३ रुपैयाँ हो ।

दैनिक ५ केजी अवैध सुनको कारोबार
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्ला दिनमा नेपाली बजारमा दैनिक कम्तीमा ५ केजी अवैध सुन बिक्री भइरहेको छ । एसोसिएसनले आव ०६८/६९ मा सुन आयातका लागि बैंकलाई दिएको अनुमति दर र चालू आवको पछिल्लो ६ महिनामा एसोसिएसनले सुन आयातका लागि बैंकलाई अनुमति दिएको दर विश्लेषण गर्दा नेपाली बजारमा कम्तीमा पनि दैनिक ४.९३१ केजी अवैध सुन बिक्री भइरहेको देखिएको हो । सोमबारको दर भाउअनुसार उक्त सुनको बजार मूल्य २ करोड ४३ लाख ९३ हजार रुपैयाँ पर्छ ।

तथ्यांकअनुसार आव ०६८/६९ मै नेपाली बजारमा बैंकको प्रतिदिन २४.६५७ केजी सुन बिक्थ्यो । त्यो दर घटेर चालू आवको माघमा प्रतिदिन १९.७२६ केजी मात्रै बिकेको छ । बजार विश्लेषण गर्दा आव ०६८/६९ को भन्दा चालू आवको माघमा बैंकको सुन धेरै परिणाममा बिक्नुपर्ने हो । तर, त्यसो नभएर उल्टै ४.९३१ केजीले घट्न पुगेको छ । यसले पुष्टि गर्छ कि सुन व्यापारीले वैध बाटो ल्याइएको सुन नकिनेर अवैध बाटोबाट ल्याइएको सुन किने ।

एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले तथ्यांक हेर्दा नेपाली बजारमा अवैध सुनको बिक्री बढेको बताए । उनले भने, ‘सात वर्षअघि नेपाली बजारमा बैंकको प्रतिदिन २५ केजीसम्म सुन बिक्थ्यो । त्यसवेलाको र अहिलेको बजार निकै बदलिएको छ । तर, सुन बिक्ने दर भने बढ्नुको सट्टा घटेको देखिन्छ । यसको सीधा अर्थ बजारमा अवैध सुनको कारोबार बढिरहेको छ । त्यसैले वैध तवरले ल्याइएको सुन बिकेन ।’

प्रहरी पनि बजारमा अवैध सुन बिक्री भइरहेको स्विकार्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुस्कर कार्कीले बजारमा अवैध सुनको कारोबार रहेको बताए । भने, ‘नेपाली बजारमा तस्करको सुन कारोबार भएको देखिन्छ । तर, सुराक कम आएका कारण तस्कर पहिचान गर्न सकिएको छैन ।’

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेती बजारमा तस्करीको सुन बिक्री भएको बताउँछन् । भन्छन्, ‘बजारमा अवैध सुनको कारोबार भएको देखिन्छ । विभिन्न इन्डिकेटरले यसको पुष्टि गरेको छ । तर, कारोबारी भने पहिचान गर्न कठिन छ ।’ नयाँ पत्रिकाबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु