प्रवासका जूनले देखाएका साझा तथ्य र छामेका सार्वजनीन सम्वेदनाहरू :

मोहन सिटौला (अनेसास पूर्व अध्यक्ष )
गोल ढुङ्ग्रा राउण्ड रक टेक्सस्, अमेरिका
जनवरि ११, २०१८ विहिबार पौष २७, एकता दिवस २०७४ विसं

 

नवोदित नेपाली युवा स्रष्टा महेश्वर शर्माको प्रस्तुत कृति पढ्ने मौका पाएर निकै उत्साहले एउटै बसाईमा बसेर पढें । अथवा पढ्न थाले पछि उठ्न बिर्सिएछ – कविताहरुले आफ्ना प्रवाहमा तानेर अम्लेख गराएछन् उनीहरुसितै । हो, यी कविताका विविध भावभंङ्ग्रिमाले छट्पट् गरिहने व्यक्ति मलाई अनायासै समाएर राखेछन् । यी कविताहरू विनाकारण सुन्दर भएका चाहिं होइनन् गाउँ बस्तीमा बस्ने, खेत, बारी, बाटो, माटो, ढुंगा र चौतारीमा भेटिने, मनबहादुर, इन्द्रे, मुक्ते, राधे आदि हुन् वा गाउँ र बजारमा वस्ने अनि स्कुलमा भेटिने शिक्षकहरू हुन् अथवा कवि बालक नै हँदा घर भित्रसँगै बसेका अनि बाहिर हिंड्डुल गर्दा वा खरबोक्दा सँगै हिंडेका बा–आमा हुन् , यी सवै सरल, विनम्र र शिष्ट मानवका लागि सरल एवम् प्राञ्जल शैलीमा सहज किसिमले प्रस्तुत भएका यी सुन्दर भावप्रवाहहरुले मलाई साँच्चिनै मोहित गराएछन् ।

हो, सरल छन् तिनीहरु, तर पाठकलाई छिनछिनमा सोच्न पनि लाउँछन् तिनले । ती विविध भौतिक अचेत—सचेत पदार्थहरू भित्र सर्जकले अभौतिक साझा सम्झनाका सम्वेदना र तिनका आत्मीय स्पर्शहरू अनि मायाँका मोहनीहरू सम्प्रेषण गरेका हुनाले सोही सम्वेदनाको अस्मोसिस पराप्रवाहले मलाई पनि उनीहरूसितै तानेका रहेछन् क्यार । त्यो आकर्षण सोचको बाध्यता मस्तिष्कको मीमांसापच्चीसिले अचेडेको वा खैंचेको होइन, यो त हार्दिक समभावका वेदना र साझा मानवीय विप्नील घर्षणका कथाव्यथा र सुखदुख हेर्न स्वतः जूनेलीले तानेजस्तो तानेका रहेछन् । यहीं म देख्छु यी कवितामा ‘क्षणे क्षणे यन्नवता मुपैति …… ’ का आभाषित झिल्काहरू र तिनले मलाई ‘सत्यम् शिवम्, सुन्दरम्’ का झल्काहरू माथि सोच्न लगाउँछन् ।

त्यसैले अब यहाँ एक प्रश्न देखा पर्यो त्यसरी आकर्षण गर्ने मार्मिकताका बिन्दुहरू कहाँकहाँ कसरी छन् त यहाँ ?
पहिलो कुरा त यहाँ बा–आमालाई एकातिर शारीरिक रुपबाट सम्मान गर्दै मातृ र पितृ– भूमिको महिमालाई राष्ट्र्रियताका व्याप्तिको बिम्बविधानमा ससम्मान र सप्रेम फिंजाइएको छ ।स्वतन्त्र समाजमा सहज किसिमले बस्न चाहने सवै निरीह निम्नबर्गीय मानवहरुको वास्तविकताको सुमधुर चित्रण गर्दै मानवीय कल्याण र करुणाका रसधाराले सिञ्चित भएका छन् यी कविताहरु । काव्यरस पाठकका हृदयमा वहन पहिले सहज किसिमले अन्तसलिलामा पुग्न सक्षम हुनु प¥यो नि कविता ! अनि जहाँ यी अक्षरहरू आफ्ना जूनका टकहरू र तिनबाट वर्षिएका सुधारस लिएर जनजीवनका दुखसुखमा मिसिन पुग्छन् त्यहीं तिनीहरू विनम्र जीवन लीलाको मायामयी गीत भइदिन्छन्, आँसुले भरिपूर्ण भएर ।

बिदाईका हात हल्लाएको त्यो दिन
आँखाका डिलका आँसुले सायद भनेछन् क्यार
पुरानो वस्ती हामी सबैको
विरानो हुनेछ
हामी पनि बिरानो हुनेछौं ।
(पुरानो बस्ती)
अर्को,
हरेक मान्छे
आँसुसँगै जीवन भेट्छन् होला
….. बा र आमाले कोरेका जीवनका गोरेटाहरू
अचेल डोब बनिरहेछन् (जीवनका गोरेटा)
मन बहादुरका
पटपटी फुटेका ती पैतालाहरू
कहिलेसम्म कुद्ने हुन् ?

पर्देशिएको जीवनका व्यथित न्यास्रा र सम्झनाहरू यस्तै हुन्छन् , डाएस्पोराका घनिभूत कथाव्यथाहरू !
सम्वेदनाका स्रोतहरू यी कवितामा अरु पनि छन् यहाँ । मान्छे यहीं छ सशरीर, तर अत्याधुनिक भौतिक परिेवेसमा मान्छे रोबोटभैं मिसिन भएर हरायो, यन्त्रजस्तै निर्मोही भयो – करुणामा, आत्मीयतामा, आफन्तिको सम्बन्धसूत्रमा ।
मान्छे खोज्दैछु अचेल ….
रोईरहेका मान्छे
आवाज विहीन मान्छे….
आफन्त गुमाएका मान्छे
हृदय हराएका मान्छे ….
महलमा बस्ने ती मान्छे…..
गिटी कुट्दै गरेका मान्छे
सडकमा सुतिरहेका मान्छे
… थुप्र्रै मान्छेहरू
मन्दिर अगाडि खै के
मागिरहेछन् ?
(खोज)
विश्वको ज्यादै ठूलो प्रतिशत ओगटेको गरिबीको यो अवस्था एकातिर र मानवलाई सम्मान दिने स्वतन्त्र विश्व अनि महलमा बस्ने सर्वहारा, क्रान्तिकारी जनबादीहरुको वास्तविक तस्वीर अर्कातिर भएको यसबेलाको विश्व मेलामा उपर्युक्त कविताहरू विपुल मानवीय चासोको विषय भए पनि पाषण हृदयी खुंखार सम्पन्न नेतृत्व समूहमा रुचिकर नहुनु स्वभाविकै हो । अनि त असंतुष्टिका चेतनागत व्यंग्यमात्र होइन विद्रोहका जोडदार अभिव्यक्तिका बाडी बढेर जाने वाध्त्यता हुन्छ ।
त्यसै गरी देशमा दर्द भएको बेला कविको हृदय यसरी रसाउँछ
देश रोएको बेला
देश व्याकुल भएको बेला
म कसरी हासूँ ?

तर,

आफ्नो जन्मभूमि, आफ्नो संस्कृति, भेषभूषा, भाषा सवैलाई मन पर्ने र मायाँ लाग्ने हुन्छ । त्यसमा कहीं कतैबाट कुठाराघात भयो भने राष्ट्रियताको त्यस सबालमा शब्द र आचरण बौलाउँछन् समान न्यायको लागि , राष्ट्रियताको महिमा र स्वाभिमान बँचाउनका लागि ।
, पहाड र हिमालसँगै जोडिएको
मेरो देश भत्किएको देख्दा
लुटिएको देख्दा….
देशको स्वाभिमान मेटाउन खोज्ने
जलाएर मेरो देश रमाउन खोज्ने ।
केही मान्छे ……
इतिहास भुल्लान्
तर आमा !
मेरो स्वाभिमान मैले बेचेको छैन
मेरो इतिकास कुल्चेको छैन
जलेको मेरो देश देख्दा
म देश बनाउन घर फर्किन्छु आमा !
(घर फर्किन्छु आमा ! )

अर्को,

मेरो स्वाभिमान पूर्खाको
रगतले बनेको छ
म कसरी आत्म समर्पण गरुँ ?
टाकुरा, हिमाल र बेसीमा
हुर्किएको मेरो देशलाई
म कसरी पराई भनूँ ?
तिमी लुट्न खोज्छौ
खोस्न खोज्छोै
हे ! छिमेकी
मेरो खुकुरीमा
अज्झै खिया लागेको छैन
म हारेको , झुकेको छैन (स्वाभिमान)

यस्तो अगाध जुझारु र स्वाभिमानी देशप्रेम, स्थानीयताको मोहित मायाकासाथै यो संग्रहका कविताहरुमा प्रेमका विवध रुपहरुको महत्वको उल्लेख पाइन्छ मातापिता, वात्शल्य, वैंशालु प्रेम, साथीसँगाती, विश्वपे्रम, मानवता आदि ।

मानवता भत्किएर विविध आत्मीय सम्बन्धको आफन्तिभाव बगर जस्तै रुक्खो भयो । भौतिकताले किचेको मान्छेको अध्यात्मभाव र तेज हराउँदै गयो, बिच्छेद भयो भन्ने यी कविका चिन्ताले टीसएस इलियटको खोक्रो मान्छे र बाँझो जमीन, खस्दै गरेको लण्डन पूल अनि बंगाली महान् कवि टेगोर तथा हाम्रा नेपाली गौरवशाली स्रष्टा लेखनाथ, देवकोटा आदिलाई सम्झाउँछ ।माथि नै भनिएको छ , यी कवि झर्झराउँदा युवा कवि हुन् । कसरी ती महान् कविसित
तुलनीय होलान् यिनी ? यसो भन्ने कसैको अहंकारी बुज्रुगी आउन पनि सक्ला यहाँ यस प्रसङ्ग्रमा । म भन्छु कविता राम्रो र चिन्तनशील हुनलाई सँधै विद्धता वा प्रौढता वा हात्तीदार व्यक्तित्व वा ठूलो ठेली नै चाहिन्छ भन्ने हुन्छ र ? मुना मदन ठूलो छ र ? सानो झर्ना पनि सुन्दर हुन्छ । सानो पोथ्रो पनि मनमोहक हुन्छ, सानो फूल पनि रमणीय । के कसैलाई पनि साना कदका हिमाल राम्रो लाग्दैन र ? विनम्र किशानहरुमा हृदयको महानता हुँदैन र ? त्यहाँ चिन्तन छैन र ? खोज्ने कस्ले ? आफ्नो परिवेस एवम् पृष्ठभूमिको चासो राख्ने र त्यसलाई सिर्जनामा प्रत्युत्पादन गर्ने सिर्जनकर्मी युवा महेश्वर र यस्तै अन्य केही बाहेक ? विर्सिनु हुन्न हामीले कवि कीट्रस् २६ वर्षमा, शेली २९ वर्षमा अनि मोतीराम ३० वर्षमा सफल, ठूला र प्रख्यात्
कवि वा साहित्यकार, समालोचक भए । आदिशंकराचार्य पनि ३२ सै वर्षमा पछिल्लो समयका अद्धीतीय वेदान्त ज्ञाता भए ।

त्यस्तै विवेकानन्द ३९ चालीसै वर्षमा विश्वविख्यात भए अध्यात्म दर्शनमा । उदाहरणहरू धेरै हुन सछन्, यस्ता थोरै उमेरमा उत्कृष्ट प्र्रतिभा देखाउन सक्नेहरुको ।मुटुमा नै टाँसिएको सजीव अनुभवजन्य स्वतस्फूर्त इमान्दार र प्राञ्जल अभिव्यक्तिमा हृदयका शाश्वतार झंकृत भएका हुन्छन् , अमूर्तरुपमा विश्वव्यापी हृदयका मुरलीको शाश्वत स्वर गुञ्जिरहेको हुन्छ त्यहाँ र यथार्थ जनजीवन चित्रित । त्यस्तै लेखनमा नै हो प्रचुर चिन्तन सामाग्री पनि विद्यमान् हुने । त्यही हो, महान् साहित्य को ‘सहहितस्यभावम्’। कुन कुरा कसले लेख्यो ? भन्नु भन्दा के लेखियो ? भन्ने वस्तुगत यथार्थमा हाम्रो ध्यान जानु
पर्छ भन्ने मेरो आग्रह छ । अनि मात्र कसैले लेखेको वा भनेको कुरामा न्यायोचित मूल्यांकन हुन्छ । कविताठूलो र सानो होइन, धेर र थोर पनि होइन, मन छुने वा नछुने अनि सजीव वा भूत्ते चित्रणकासाथै बोधो वा तीखो अभिव्यक्तिका आधारमा पो हेरिनु पर्छ त ! प्रस्तुत यो
कृतिजस्तो जनजीवनको सजीव यथार्थ इमान्दारी पूर्वक सरल भाषामा तर केही नवीनजस्तो साहित्यिक शैलीमा बहेको कविताले मन जित्दैन र ? सोच्न लगाउँदैन र ?

यस कवितासंग्रहमा संग्रहित कविताहरुमा ढुङ्ग्रामाटाको अभिन्न जोडन – लिम्बू भाषामा खाम्लालुङ (ढुङ्ग्रामाटाले एकाअर्कामा खाम मारेको वा अँगालो हालेको, सम्मिएको वा पहिरो नजाने आदि) – सृष्टिसत्ताको एक सूक्ष्म र आंतरिक सत्यको बाहिरी भौतिक रुपका साथसाथै सबैमा मेलमिलापको महिमा सरल र सहज किसिमले प्रस्तुत भएको छ । यसका साथसाथै यसले गहन चिन्तनलाई पनि आकर्षित गर्दछ । सवैसित आपसी मायाँ र सद्भाव , आपसी मेलमिलाप, घरको, मजेरी र पींडीको , किसान र विद्यार्थी आदिको मायाँ देखि, सूर्य, चन्द्र, तारा ,आकाश, देवदेवी, देशका रुखपात, उत्सव, चाडपर्व, खेल, तमासा, फलफूल, हिमाल, वन, जंगल, किशान, मजदुर दाज्यूभाई, दिदी वहिनी, साथी भाई , गरिबी र शोषण , दमन, आशा, सपना, जपना, आफ्नो देश र आफ्नो मौलिक अक्षुण्य लामो वहुविध संस्कृतिको मानवीय मिलानको परम्परा र तिनको स्वाभिमान बचाऊँ आदि इत्यादि जीवनका बहुरंगी रंग, रोकन, चाहना र गीतका स्वरहरु अनि जन्मभूमिको माटाको सुवास सञ्चित र सिञ्चित छन् यहाँ । भन्नु उसो होइन, सुन्दर–असुन्दर, कोमल र कठोर जनजीवनका वास्तविकताहरू सरल काव्यिक शैलीमा आफ्नै रुपका सौन्दर्य र सुगन्धका मीठास एवम् मोहनीमय मायाँ लिएर यहाँ प्रवाहित भएका छन् यी कविताहरू ।

अलिकति प्रसङ्ग थपेर प्रकारान्तरमा सम्बन्धित के कुरा भन्न मन लाग्छ भने नेपाली भाषामा काव्यिक सिर्जनशीलता, सोच र शील्प प्रशस्त विकसित भएर सहज किसिमले खिपिएर जीवनजगत्सित अनुप्राणित भएर बढीरहेको छ । यसमा विश्वमा भएका प्राय सवै किसिमका रुप, रङ्ग, शैली, लय आदि प्रवेश गरेर विकशित भैरहेछन् । गीत, गजल, झ्याउरे, लोकगीत, हाइकु , मुक्तक, गद्य र पद्य कविता आदि । ती सवैको आआफ्नो मर्म, धर्म, विशेषता, इतिहास, विकास, कलाकारिता, नवीनता आदि तत्व र चुनौतिहरु छन् । तिनमा यहाँ छन्द्परम्परासम्बन्धी अलिकति कुरो कोट््याउन मन भइरहेछ मलाई । यो छन्दपरम्परा हाम्रो महीको महिमा र नेपालीको गौरव पनि भएको छ। कुरा के भने छन्द वा छान्दसिक परम्परा संस्कृत साहित्यको अनुपम प्राप्ति, प्रयोग र प्रदान हो विश्व वाङमयलाई र खाशगरी दक्षिण एशियाई र अझ भारतीय र नेपाली वाङमयलाई । तर अहिले यसको एकमात्र सफल उत्तराधिकारी प्रयोक्त्ता नेपाली भाषा मात्र बाकी रहेको छ । विशिष्ट संगीत सुषमा र अनmूपम शब्दार्थालङ्गकार एवम् काव्यरस वहन गर्न सक्ने यो विधालाई सकेसम्म सवै नयाँ नेपाली सर्जकहरुले उपयोग गर्नु पनि त्यत्तिकै महत्वपूर्ण रुपले योगदानमुलक हुनेछ ।

अन्तमा यी युवाकवि महेश्वरको यो जूनेली कविता संग्रहमा यहाँ परिलक्षित भएका कविको सिर्जनशील प्रतिभा, समवेदनाको अनुराग, करुणा, प्रेम र सम्मानका परागहरू अनि मानवीय सद्भाव, काव्यिक कल्पनाशीलता र जीवनागत अनुभवकासाथै चिन्तन र लेखनका जाँगर उत्तरोत्तर बढेर जाउन् । माथि भनिएका कुराहरूयहाँ झल्किएका छन् र आगामी कृतिहरुमा ती तत्व र विशेषताहरू अझ छर्लंङिगदै जाउन् र परिणामतः अझ उत्कृष्ट धेरै धेर रचनात्मकता र चिन्तशीलता मुखरित भएर झन् उच्चाइ, गहिराई र व्यापकताका ग्रन्थहरू निस्किरहुन् । त्यसको पनि फलस्वरुप नेपाली डायस्पोरा साहित्य झन्झन् पल्लवित हुँदै जाओस् भन्ने समेत शुभकामना यिनै शब्दावलीमा व्यक्त गर्न अभिप्रेरित भएको छु । धन्यवाद ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु