वाम एकतालाई बागमतीको ह्वास्स गनाउने ढल भन्दै आयो यस्तो विज्ञप्ति

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतालाई लिएर यतिबेला सकारात्मक र नकारात्मक दुवै हिसाबले टिकटिप्पणी भईरहेको छन् । यस्तैमा पूर्वमाओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले बागमतीको ह्वास्स गन्हाउने ढललाई सुनकोशीको कञ्चन जल मानेर मक्ख नपर्न भन्दै सामाजिकसंजालमार्फत कटाक्ष गरेका छन् ।

माओवादी केन्द्रको पछिल्लो हेडक्वार्टर बैठकले विष्टलाई हालै पार्टीबाट निष्कासन गरेको थियो । उनले भने आफूले सात महिनाअघि नै पार्टीबाट राजीनामा दिएको र अहिले आएर पार्टी एकता विरोधी भन्दै कारबाहीको नाटक गर्ने घुषित कार्य गरेको टिप्पणी गरेका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘पहिलेदेखि नै एमालेकरण हुँदै हुँदै आएको अस्ति जसो झन् लपक्कै टाँसिन पुगेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)/माकेको बैठकले लोकेन्द्र विष्ट, गोपाल किराती र विश्वभक्त दुलाल आहुति लाई पार्टी एकताप्रक्रिया र पार्टीमा पनि संलग्न नरहेकाले औपचारिक रूपमा पार्टीमा नरहेको घोषणा गर्ने निर्णय गरेछ। लोकेन्द्र विष्टको हकमा राजीनामा दिएको ७ महिनापछि र किराती र आहुतिको हकमा पनि असहमति र सम्बन्ध तोडिसकेपछि यस्तो निर्णय आउनु हास्यास्पद,लज्जास्पद र घृणास्पद कुरा हो। विधि–प्रक्रियाका हिसाबले पनि कट्ठैको अवस्था रह्यो ! यद्यपि माके–एमालेको एकता ठीक छ र सान्दर्भिक पनि। यिनीहरू अलग रहनुभन्दा सँगै रहनु धेरै प्रकारले राम्रो हो। जनता भ्रममुक्त हुँदै जान्छन्। किन कि हामीहरूले सो पार्टीको सचिवालय समिति र कार्यालय/हेर्डक्वाटर समितिमा फरक र अलग ढंगले आफ्ना मत/सुझावहरू राख्दै आएका थियौं। ती मत/सुझावहरूलाई बेवास्ता र अस्वीकार गर्दै षडयन्त्रकारी कार्यशैलीका साथ पार्टी सिध्याउने खेलमा लागेको पक्का भएपछि हामी आ–आफ्नो प्रकारले निस्क्यौं। हामी अलग या सामूहिक रूपमा पुनः माओवादी क्रान्तिकारी धारालाई नयाँ शिराबाट संगठित, केन्द्रीकृत र सक्रिय तुल्याएर अघि बढ्ने दौरमै छौं। अब संसदवादी र क्रान्तिकारी दुई धाराहरू आ–आफ्नो दिशातिर आफ्नै तौरतरिकाले यात्रारत रहन्छन्। यसघडि सबै सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेता,कार्यकर्ता र समर्थक/शुभचिन्तकहरूले आफ्नो विचार,पार्टी, वर्गीयमुक्ति र संस्कार/आचरणको खोजी र निर्माण गर्ने बेला आयो। राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरू झन् झन् विकराल बन्दैछन्। त्यसैले वैकल्पिक शक्तिको खाँचो छ। शोषण, उत्पीडन, विभेद, अन्याय र असमानताका विरूध्द सारा शोषित पीडित र दमित जनतासँग जनताकै हक अधिकारका लागि लड्नलाई जुटौं। हर समय आफ्ना लागि आफैं उठ्ने, आवाज उठाउने र संघर्ष गर्ने गरि संगठित होऔं ! अब बागमतीको ह्वास्स गन्हाउने ढललाई सुनकोशी र कर्णालीको कन्चन जल र धार ठानेर/मानेर मक्ख पर्ने गल्ती नगरौं !’

Comments

comments

सम्बन्धित शिर्षकहरु