भीरबाट लडेर गम्भिर घाइते भएकी महिलालार्इ बचाउन प्रधानमन्त्रीले जहाज पठाए

नेपालगन्ज । गत फागुन ३ गते घाँस काट्न जंगल गएकी धर्मा भीरबाट लडिन्। लडेर गम्भीर बनेकी बाजुराको नौमुल गाउँपालिकाकी ४० वर्षीया धर्मा रोकायाको जिल्ला अस्पतालमा उपचार हुन सकेन। आफन्त र परिवारले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा त्यही राती पुर्याए। तर, कोहलपुर मेडिकल कलेजले बिरामीलाई उपचार गर्न मानेन।

‘हामीले तत्तकाल बिरामी बचाउन अनुरोध गर्यौँ उपचार परै जाओस अस्पतालमा राख्न समेत मानेनन् डाक्टरले,’ धर्माका पति वीरेन्द्र रोकायाले भने, ‘तत्कालका लागि आइसीयूमा राख्न समेत अस्पताल प्रशासन मानेन, दैनिक ३० हजार रुपैयाँ शुल्क दिएपछि मात्रै राख्न सकिने अस्पतालले अडान राख्यो।’

मेकिडल कलेजले उपचार गर्न नमानेपछि भेरी अञ्चल अस्पताल नेपालगन्जमा सिफ्ट गरियो। छाति र टाउकोमा गम्भीर चोट लागेकी धर्माको नेपालगन्जमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने चिकित्सकले रेफर गरे। तर, धर्माको अवस्थाका कारण एम्बुलेन्स र जहाजको सिटमा राख्न नसक्ने पति रोकायाले बताए।

बाजुराकै एमाले नेता कर्णबहादुर थापाले बिरामीको ज्यान बचाउन सरकार गुहार गरे। आर्थिक अवस्था कमजोर रोकायालाई उपचारका लागि काठमाडौं लैजान हेकिकोप्टर र एम्बुलेन्सबाट सम्भावना नभएको पहलकर्ता कर्णबहादुर थापाले बताए।

‘उहाँ नेपालगञ्ज ल्याउने समय बाटोमै बेहोस हुनुभएको थियो, भेरी अञ्चल अस्पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौँ ल्याउने कुनै उपाय थिएन’ उनले भने, ‘जहाजको सिटमा बस्न नसक्ने र एम्बुलेन्समा काठमाडौँसम्म ल्याउन नसकिने भएपछि एउटै विकल्प जहाज चार्टर गर्नुपर्ने भयो, तर जहाज चार्टर गर्दा ८ लाखभन्दा बढी लाग्ने भएपछि रोकाया परिवारका लागि त्यो सम्भव थिएन।’

उनले सबै कुरा प्रधानमन्त्रीलाई बताएपछि बिरामीको ज्यान बचाउन ओली तत्पर रहेको बताए। प्रधानमन्त्री ओलीको निर्देशनमा यती एयरलाइन्सको जहाजमा मंगलबार नेपालगन्जबाट काठमाडौं लगेर वीर अस्पतालको सघनकक्षमा घाइतेको उपचार भइरहेको छ।

नयाँ सरकार नेतृत्व गरेका केपी ओलीसमक्ष रोकायाको अवस्था र सरकारको दायित्वबारे कुरा राखेपछि बिरामी बचाउन जहाज चार्टरको व्यवस्था गरिदिएको पहलकर्ता थापाले बताए। घाइते धर्माका पति वीरेन्द्र रोकाया नौमुल गाउँपालिका-४ का वडाअध्यक्ष समेत हुन्। प्रधानमन्त्रीको पहलबाट पत्नीको ज्यान बचाउन सकिएको भन्दै रोकायाले सरकारलाई धन्यवाद दिएका छन्।
अाजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु