करन केसीले जित दिलाएपछि नेपाल विश्वकप छनोटमा

काठमाडौं ।  नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेको छ । बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित भएको हो ।

पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकर मात्र एक रनमा आउट भए । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गुमायो । नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए ।

विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुँदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुँदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए ।

क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले शतकीय पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए । योसंगै नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु