ओली र प्रचण्डबीच आजपनि ‘वान टु वान’ वार्ता,यसरी हुँदैछ एकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि वान टु वान भेटवार्ता भएको छ । ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा साँझ ५:१० मा प्रवेश गरेका ओली र प्रचण्ड ५ बजेर ५० मिनेट जाँदा बाहिरिएका थिए ।

घरबाट बाहिरिने क्रममा दुवै नेताले केही प्रतिक्रिया दिएनन् । पार्टी एकतालाई ठोसरूप दिने विषयमा दुई अध्यक्षबीच कुराकानी भएको निकट स्रोतले जनाएको छ । ओली र प्रचण्डमात्रै सहभागी वार्तामा बुधबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको स्रोतले जानकारी दियो ।

यस्ता छन् एमाले माओवादी एकीकरणका सहमति

प्रतिनिधिसभा चुनावमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनको प्रदेश र राष्ट्रियसभामा पनि बहुमत रहेको छ । बहुमत प्राप्त दलको नेता भए पनि यी दुई पार्टीबीच एकता भैनसकेकोले ठूलो दलको नेता प्रधानमन्त्री हुने प्रावधान छ । त्यसै अनुसार पहिला प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने सहमति दुई दलका नेताले गरेका छन् । संघीय नेपालको पहिलो प्रधानमन्त्री केपी ओली हुँदा गठबन्धनको नभएर बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने ओलीले तयारी गर्नुभएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको नेतृत्व प्रचण्डले गर्ने । साढे २ वर्ष सरकारको नेतृत्व ओलीले गरेपछि प्रधानमन्त्री अर्को साढे २ वर्षका लागि प्रचण्ड हुने र एकीकृत पार्टीको नेतृत्व केपी ओलीले गर्ने वा दुवै जना सह–अध्यक्ष हुने ।

  • एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने । अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउने ।
  • स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने ।
  • जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै टुंगो लगाउने अन्य विषयलाई महाधिवेशनबाट टुंगाउने ।
  • पार्टी एकीकरणलाई भव्य बनाउने, एकीकरण कार्यक्रममा एमाले र माओवादीका ५ लाख कार्यकर्ता उतार्ने ।

दुई पार्टीका अध्यक्षबीच सोमबार भएको यो छलफलपछि दुवै अध्यक्षले आन्तरिक छलफल पनि गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले ओलीसँगको सहमति बारे माओवादी नेता जर्नादन शर्मा र रामबहादुर थापासँग सोमबार नै छलफल गर्नुभएको थियो भने केपी ओलीले पनि आफूनिकट केही नेतासँग छलफल गर्नुभएको थियो । छलफललाई मूर्त रुप दिनको लागि मंगलबार पनि दुई अध्यक्षबीच छलफल हुने एमाले माओवादीका नेताहरुले जनाएका छन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु