सरकारको नेतृत्व कसले गर्ने माओवादीमा बहस सुरु,पार्टी एकता अझै अन्योलमा ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले लिने जुनसुकै निर्णयको केन्द्रमा देश र जनता हुने बताएका छन्। आइतबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले राष्ट्र र जनताको आवश्यकतानुसार जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताए।

चितवनको भरतपुरमा आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वाम एकताको सन्दर्भलाई मात्रै केन्द्रमा राखेर आफ्नो भनाइलाई बुझ्न नहुने बताए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ । माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेको माओवादी केन्द्रका एक नेताले बताए ।

पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ । यदि सरकारमा जाने अवस्था आएमा पार्टी भित्रको आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ ।

पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन् । प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु