टुँडीखेलमा हुने कार्यक्रमका लागि सलमानले कति लिए पारिश्रमिक ?

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खान फागुन अन्तिम साता नेपाल आउँदै छन् । सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुनको लागि नेपाल आउन लागेका हुन् ।

सलमानको ‘द दवङ टुर’ कार्यक्रमका लागि उनले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि नेपाल आउनेछन् । उक्त रकम आयोजकले सलमानलाई अग्रिम रुपमा पठाइसकेको छ भने अन्य कलाकारहरुको लागि ३ करोड २० लाख रुपैयाँ पठाइसकेको छ । सलमानसँग नेपालका ५ कलाकारले स्टेज सेयर गर्नेछन् ।

यस्तो छ तालिका

सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको आयोजकले जनाएको छ । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ ।

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन । उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु