कवि रिमा केसीको ‘फूल र पृथ्वी’ कविता

 

हिजो जन्मका लागि अयोग्य थिए पारिजात
कर्मका लागि अयोग्य थिए योगमाया
तिनै पुतली संसार जितिरहेछन् आज
दुधको सट्टा ब्ल्याक सी पिएकाहरू कोक्रोमा
आज तिनै मखमली संसार हल्लाईरहेछन्
फूलहरूको संघर्षलाई कोटी-कोटी सलाम छ ।

हेर, बगरको ढुङ्गा झैं अलपत्र मिरालाई हेर
ऊ त आज चम्किएकी छ हिरा जस्तै
देख्यो जसले अन्धकार आफ्नै जिन्दगी
उसैलाई दिईरहेकी छ ज्योति
जसका चल्दैनन् आफ्ना हात-गोडा
सोध्छिन्- जीवन काँडा कि फूल ?
पढाउँछिन् काँढालाई फूल जस्तो जिन्दगी
-‘जीवन त हुनुपर्छ केवल एक फूल ।’
को होला बेचिएका आँशुको माइती ?
किन दिईरहेछ जीवनलाई पटक-पटक सञ्जीवनी ?
थपिरहेछन् भाउजू/आमा/सानिमालाई हौसला ?
किन तयार भयौ नजन्माएकी छोरीका आमा बन्न अनुराधा ?
कुनै दिन तिमी पनि हेपिएकी थियौ
फूलहरूको संघर्षलाई कोटीकोटी सलाम छ ।

अनाथ/अबोध बालबालिकालाई
स्तनपान गराईरहेकी कुमारी आमा देख्यौ ?
टुहुरालाई ममताको न्यानो स्पर्श गरिरहेकी धाईआमा भेट्यौ ?
कुनैदिन आफ्नै बाच्छाले छोडेका गाईका हूल देख्यौ सडकमा ?
तिनका खुट्टा पुज्ने दीक्षा चिन्छौ ?
सुनिता, पुष्पा, इन्दिरालाई सलाम छ
दिलशोभा, रेणु, दीक्षालाई सलाम छ
पारिजात, पासाङल्हामू, कोईलीदेवीलाई सलाम छ

हिलोमा पनि कमल फुल्दछ
उजाड मरुभूमिमा क्याक्टस उम्रन्छ
काँडाबिच रातो गुलाफ फक्रिन्छ
हिलोमा फुलेका कमल
मरूभूमिमा उम्रिएका क्याक्टस्
काँडाबिच फक्रिएका राता गुलाफ
तमाम फूलहरूलाई सलाम छ ।

गमलामा फुल्नेहरू त के फूल ?
फूल त ती हुन्
जसले हजारौं फूल फुलाउन खोज्छन्
तिनकै सुवासले मन्त्रमुग्ध हुन्छ चौध भुवन
फूलहरूको संघर्षलाई कोटीकोटी सलाम छ ।

यहाँ यस्तो हुँदोरहेछ लक्ष्मि दाइ
हिजो पूजामा नचलेका फूल
पृथ्वी स्वयम् तिनीहरूकै पूजा गरिरहेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु