यसरी गुम्यो अष्ट्रेलियाको भिसामा माया…पिडादायिक घटना

  • कोम खत्री

जनवरीमा नेपालतिर जाडो बढे पनि अस्ट्रेलियामा भने गर्मीले सताइरहेको थियो। त्यस दिन भने पारो त्यति माथि पुग्ने कुनै संकेत गरेको थिएन, भनौं मौसम शितल नै थियो।

बेलुकीको समय छोरो ‘साने’ सँग केही क्षण बिताउन र रमाइलो गर्न भनेर नजिकैको पार्कतिर गएको थिएँ। पार्कमा केटाकेटी खेल्न बनाइएका विभिन्न सामग्रीहरू थिए। साने पनि घरि पिङतिर घरि अर्कै खेल्ने ठाउँतिर दौडिरहेको थियो।

पार्कको पूर्व–दक्षिणपट्टि खुला मैदानमा केही नेपाली अभिभावकहरू झुण्डमा बसेर गफिइरहेका थिए। म सानेको चर्तिकला हेर्नमैँ व्यस्त थिएँ। पार्कसँगै उत्तरतर्फ लहरै रहेका बेञ्चमा एक नेपाली युवक बसिरहेका थिए। मध्यम कदकाँठी र गहुँगोरो वर्णका ती युवक धरै बेरसम्म त्यही बसिरहेको देखेर केही कुरा गर्न मन लागेर छोरोलाई पार्कभित्र छोडेर बेञ्चमा आएर ती युवक नजिकै बसेँ र भनेँ – ‘भाइ नेपाली हो?’

उनले भनेँ– ‘हो दाइ।’

सोधेँ– ‘नाम के हो नि भाइको?’

उनले भनें – ‘विक्रम।’

फेरि सोधेँ – ‘यतै नजिकै बस्नु हुन्छ हो?’

उनले जवाफ दिए– ‘हो दाइ! यहाँबाट दश मिनेट जति पर बस्छु।’

म– ‘अनि कति भो त नेपालबाट आएको?’

उनी– ‘सात वर्ष जति भयो।’

म– “स्टुडेन्टमा आउनुभा कि डिपेन्डेन्टमा ?”

उनी– “आउन त डिपेन्डेन्टमा आको तर अहिले स्टुडेन्ट भाको छु ।”

म– “ए हो र ! अनि पढाइ सिद्दिसक्या होला नि ।”

उनी– “कहाँ सक्किनु दाइ । बाँकी छ अझै ।”

म– “के पढ्नका लागि आउनुभा’को र ? यतिका वर्षसम्म त पढाइ सक्किसक्नु पर्ने होइन र?”

उनी – “सक्किनु पर्ने त धेरै अगाडि हो दाइ तर के गर्नु जिन्दगीको गति आफूले भने जसरी कहाँ चल्छ र?”

कुरो चपाएको देखेर फेरि सोधें – “किन र के भो त्यस्तो अहिलेसम्म पढाइ नसकिनका लागि?”

उनी – “कुरो धेरै लामो छ दाइ ।”

म – “समय छ भने मलाई सुनाउनुस् न त छोटकरीमा। अरूका लागि केही शिक्षा पनि त हुन सक्छ नि।”

उनी – “तपाईं सुन्न चाहनुहुन्छ भने मलाई त अहिले समय नै समय छ।”

म – “हुन्छ सुनाऊ न त।”

उनले आफ्नो कथा मलाई सुनाउन तयार भए

त्यो दिन अर्थात् ३ जुन २०१० मेरो जीवनको अविष्मरणीय दिन मध्येको एक दिन थियो। मलाई याद छ बिहीबारको दिन थियो। हाम्रो अर्थात् म र मेरी अर्धाङ्गिनी ‘अञ्जली’ को अस्ट्रेलियाको भिसा लागेको दिन थियो। मलाई कन्सल्टेन्सीबाट फोन गरेर रिसेप्सनिष्टले भनेकी थिई – “बधाई छ तपाईँलाई। तपाईँको भिसा आएको छ। अब अस्ट्रेलिया जाने तयारी गरे हुन्छ।”

यो सुनेर खुशी भएपछि मैले सबैभन्दा पहिले मेरो मोबाइलबाट अञ्जलीलाई फोन गरेर भनेको थिएँ। ऊ पनि निकै खुशी भएकी थिई। अनि त्यो दिन हामीले धेरै बेरसम्म मिठामिठा सपनाको कल्पना गर्दै गफ गरेर बिताएका थियौँ। आखिर दुई वर्षको प्रेमपश्चात् विवाह वन्धनमा बाँधिएका हामी त्यस दिन अत्यन्तै खुशी थियौँ। आजैजस्तो लाग्छ त्यो दिन मलाई। भिसा लागेको केही हफ्तापछि हामीले आफ्नो तर्फबाट सम्पूर्ण तयारी सकेर सम्पूर्ण आफन्त, साथीभाइ तथा इष्टमित्रलाई विदा गरेर २१ जुन २०१० मा कंगारू भूमिमा पहिलोपल्ट पाइला टेकेका थियौँ।

मायाको संसारमा रमाइरहेका अरू जोडीहरु सरह हाम्रा पनि अनेक सपनाहरू, रहरहरू र वाध्यताहरू थिए। यहाँ उत्रिसकेपछि जीवनले केही नवीन मोड लिने नै भयो। हामी त्यसका लागि पनि तयार नै थियौँ। त्यसताका सिड्नीमा काम पाउन निकै हम्मेहम्मे थियो। उनी मास्टर्स पढ्न आएकी थिइन्।

हफ्ताको तीन दिन कलेज जानै पथ्र्यो। दुई/तीन महिनाको संघर्षपूर्ण जीवनपश्चात् मैले बल्लबल्ल एउटा फ्याक्ट्रीमा फुलटाइम काम पाएँ तर काम भने रातिको थियो । मैले बेलुकीको ९ बजे काम शुरु गरेर बिहानको ५ बजे सक्थेँ अनि घरमा आइपुग्दा ६ बजिसकेको हुन्थ्यो। उनले पनि पार्टटाइम काम पाइन् र हफ्ताको २० घण्टा काम गर्न थालिन्।

समयक्रम यसरी नै चल्दै गइरहेको थियो। कामको बोझ, रातिको काम दिउँसोमा सुत्नुपर्ने बाध्यता आदि कारणले गर्दा हाम्रो मायामा विस्तारै विस्तारै केही कमी त भएको होइन जस्तो महसुस गर्दै थिएँ तर हामी परदेशीको पीडा यस्तै हुन्छ भन्ने पनि मनमा हेक्का थियो।

केही वर्षका लागि दुःख नगरेसम्म कहाँ सुख पाइन्छ र भनेर आफ्नो मनलाई सान्त्वना दिन्थें। उनलाई मैले वेलावेलामा सम्झाउने पनि गरेको थिएँ कि जीवनमा अहिले गरेको दुःख र कष्टले हामीलाई एकदिन सुख र समृद्धि अवश्य दिनेछ भनेर। उनलाई पनि त कामको अनि पढाइको बोझ सँगसँगै झेल्नु थियो। मलाई उनी मेरो कुरामा र हाम्रो मायाको समर्पणमा पूर्ण रूपमा विश्वस्त छिन् जस्तो लाग्थ्यो । दुई वर्ष जति यसैगरी बित्यो।

एक दिन करिब दुई वर्षपछि एक बिहान म कामबाट घरमा आएँ तर उनलाई घरमा भेटिनँ। फोन गरेँ फोन डिस्कनेक्टेड भएको रहेछ। केहीछिन यताउता भौँतारिएपछि कोठामा छिरेर दराजतिर हेरेँ। उनका सबै सरसफानहरू केही पनि थिएनन्। नेपालबाट आउँदा ल्याएको सुटकेस पनि कतै देखिनँ। अलिकति मनमा चिसो पस्यो। अनि, बिस्ताराको नजिकैको टेबलमा आँखा गयो। त्यहाँ एउटा चिठी रहेछ। चिठीमा लेखिएको थियो –

‘विक्रम म आजदेखि अन्त जाँदैछु। मलाई खोज्ने र भेट्ने प्रयत्न नगर्नू। बस् यति मात्र बुझ्नु कि म तिमीसँग जीवन गुजार्न सक्दिनँ। – अञ्जली’

त्यो पढेपछि केहीवेर केही सोंच्नै सकिनँ। अचानक भाउन्न भएर आयो। प्रश्नैप्रश्नहरूले झटारो हानेजस्तो लाग्यो। एउटा पनि प्रश्नको उत्तर भेट्टाउन सकिनँ। आखिर किन? के कमी भो? कहाँ गल्ती भो? आदिआदि।

मायाको अँगालोमा पर्दा गरिएका वाचाहरू एकएक गर्दै झल्झल्ती याद आउन थाले। तर सत्य आखिर सत्य नै रहेछ। त्यो दिन मेरो जीवनको सबैभन्दा तल्लो तहमा उभिएको अनुभव गरेको थिएँ।

त्यसपछि मैले कैयौंपटक साथीभाइहरूमार्फत् उनीसँग भेट्ने निरर्थक प्रयत्न गरेँ। तर उसले सधैं इन्कार गरी। जीवनमा सम्हालिन खोज्दाखोज्दै धेरै रातहरू पीडामा डुबेर बिताएँ। केही महिनाको छुट्टी लिएर जनतन कामलाई निरन्तरता दिएँ। यसैगरी वर्षदिन बित्यो। त्यसपछि एउटा साथीले मलाई सम्झाउँदै भन्यो – ‘हेर विक्रम! अब तँ अञ्जलीको पछि लाग्ने कोसिस नगर। ऊ अहिले अर्कैसँग बस्छे। उनीहरूको चाँडै विवाह हुँदैछ। बस् यो बुझ्नु कि तिमीहरू एकअर्काका लागि बनेका थिएनौं भनेर।’

यति भनेको केही दिनपछि मेरो पोष्ट बक्समा एउटा चिठी आयो। त्यो चिठीमा अञ्जलीले मसँग छोडपत्रका लागि अदालतमा निवेदन हालेको व्यहोरा उल्लेख गरिएको थियो। अब सँगै बस्न कुनै तुक नदेखेपछि मैले पनि सजिलैसँग छोडपत्रको स्वीकृति दिएँ। त्यसपछि अञ्जली मबाट सधैँका लागि टाढा गई।

अचेल जीवनको परिभाषा बुझ्न मलाई हम्मेहम्मे पर्छ। मान्छेलाई यहाँको समुद्रको नूनिलो पानीले कत्ति छिटो परिवर्तन गर्न सक्दो रहेछ भनेर म सधैँ अचम्मित हुन्छु। हाम्रो संस्कृति र सभ्यतालाई कति छिटो विदेशी भूमिले भुलाउन सक्दो रहेछ भनेर सधैँ प्रश्न गरिरहन्छु।

यत्तिकैमा ‘साने’ दौडिदै आएर ‘घर जाम’ भन्ने संकेत गर्न थाल्यो। विक्रमको कुराले मनमा अनेकथरि प्रश्नहरूको ओइरो लागिरहे र कुराहरू खेलिरहे तर केही कुराको पनि उत्तर भने भेट्न सकिनँ। विक्रमसँग अरू धेरै कुराहरू गर्ने मन हुँदाहुँदै पनि छोरोले घर जाम भनेर निकै कर गर्न थालेपछि विक्रमलाई फेरि भेट्ने वाचा गर्दै र सान्त्वना दिँदै म आफ्नो घरतिर पाइला सारेँ।
-सेतोपाटी

Comments

comments

सम्बन्धित शिर्षकहरु