एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, यसरी हुनेछ नेताहरूको व्यवस्थापन

काठमाडौं । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो ।

एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ ।

बैंककको नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार तीन घण्टा लामो छलफल यसै प्रक्रियालाई टुंग्याउनेमा केन्द्रित रह्यो । पार्टी एकता, राष्ट्रियसभा निर्वाचनमा कार्यदलले दिएको प्रतिवेदन र प्रदेश सरकार गठनका विषयमा ‘गहन र सकारात्मक’ छलफल भएको दुवै पक्षका नेताहरूले बताएका छन् ।

‘पार्टी एकता अन्तिम चरणमा पुगेको अवस्था हो’, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘दुई अध्यक्षबीच निर्णायक कुराकानी भएको छ र भोलि त्यसले ठोस आकार लिने विश्वास गरेका छौं ।’

दाहाल र ओलीबीच टुंगिन बाँकी विषयलाई अन्तिम रूप दिन शनिबार थप छलफल हुने ओलीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकार गठनमा समय लाग्ने भएपछि पार्टी एकतालाई छिटो र छोटो विधिबाट टुंग्याउन दुई नेताबीच समझदारी भएको ओलीको सचिवालयले जनाएको छ । दुई पार्टीबीचको एकतालाई ठोस रूपमा अघि बढाउन आइतबार एकता संयोजन समिति बैठक बोलाइएको छ ।

उक्त बैठकले सांगठानिक र वैचारिक कार्यदल बनाएर एकता प्रक्रियालाई ठोस रूपमा अघि बढाउने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यद्यपि, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेमा अझै पनि विभिन्न मोडेलमा छलफल विचाराधीन छ । एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे नेताहरूले खुलाउन चाहेनन् ।

उच्च स्रोतका अनुसार ओली र दाहाल दुवै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमतिनजिक छन् । तर, माओवादी केन्द्रका केही नेताले भने प्रधानमन्त्रीमा ओली, पार्टीको सबै नेतृत्व लिने गरी दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने दबाब दिइरहेका छन् । ‘दुवैजना अध्यक्ष रहने र पदाधिकारीमा केही संख्या थपेर अघि बढ्ने पनि एउटा राम्रो विकल्पका रूपमा छलफल भइरहेको छ’, सचिव ज्ञवालीले भने ।

एकतामा पार्टी नेतृत्व, प्रदेशका मुख्यमन्त्री र सभामुख तथा राष्ट्रियसभा गठनका लागि कार्यदलले दिएको प्रतिवेदनबारे ओली र दाहालबीच छलफल भएको दुवै नेताका सचिवालयले जनाएका छन् ।

एमाले नेता सुवास नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभा चुनावमा दुई दलबीच सिट बाँडफाँट गरी ओली र दाहाललाई बुझाएको थियो । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र तीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने गरी सहमति गरेको थियो । ओली बैंकक जानुअघि गठित उक्त कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरी टुंग्याउने समझदारी दुई नेताबीच भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । राष्ट्रियसभाका लागि माघ १० गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।

यस्तै, कार्यदलले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखबारे तयार पारेको प्रतिवेदनमाथि पनि ओली र दाहालबीच कुराकानी भएको थियो । प्रदेश २ बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले ६ वटा प्रदेशमा उनीहरूकै मुख्यमन्त्री र सभामुख निर्वाचित हुने अवस्था छ ।

माओवादी केन्द्रले २ र एमालेले ४ वटा प्रदेशको सरकारको नेतृत्व लिने र जसको जुन प्रदेशमा सरकार बन्छ, त्यो प्रदेशमा अर्को दलको सभामुख हुने गरी कार्यदलमा छलफल भएको थियो ।

सबै विषय टुंगोमा पुग्न नसकेका कारण ओली र दाहालबीच शनिबार पुनः छलफल हुने दाहालको सचिवालयले जनाएको छ । सरकारले तोकेका प्रदेश प्रमुखबारे पछि मात्र निर्णयमा पुग्ने र प्रदेश मुकामका विषयमा पछि नै प्रदेशसभाले निर्णय गर्ने भएका कारण हाललाई ती विषयलाई चर्चाको विषय बनाउने भन्नेमा दुई नेता सहमतिमा पुगेको बताइएको छ । संघ र प्रदेशका चुनावलाई लक्ष्य गर्दै असोज १७ मा चुनावी तालमेल घोषणा गरेका दुई ठूला वाम दलले पार्टी एकतासम्म पुग्ने लक्ष्य लिएका थिए ।

पहिलो खाका
ओली र दाहाल दुवै अध्यक्ष
एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही थप्ने

दोस्रो खाका
प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल ।  अाजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु