एमाले-माओवादी पार्टी एकता अन्तिम चरणमा

काठमाण्डौ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार करिब तीन घन्टा भएको वार्ता एकता प्रक्रियालाई अन्तिम रूप दिने सहमतिनजिक पुगेको छ । आज दुवै नेताबीच ‘निर्णायक वार्ता’ हुनेछ ।

राष्ट्रिय सभाको सिट बाँडफाँड, प्रदेश सरकार गठन र एकीकृत पार्टीको सांगठनिक ढाँचामा केन्द्रित दुई प्रमुख नेताबीचको वार्ता निर्णायक चरणमा पुगेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘उहाँहरूबीच धेरै राम्रो कुराकानी भएको छ, त्यसैले त्यो कुराकानीलाई निर्णायक पनि भन्न सकिन्छ, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन र पार्टी एकताका सन्दर्भमा संगठनात्मक ढाँचा र सिद्धान्तलगायत विविध प्रश्नमा उहाँहरूबीच लामो छलफल भयो,’ ज्ञवालीले भने, ‘शनिबार पनि छलफल गर्नुहुन्छ र आइतबार पार्टी एकता संयोजन बैठकबाट निर्णय भएपछि सबै प्रक्रिया अब रफ्तारमा अघि बढ्नेछ ।’

स्वास्थ्य उपचार गरेर बैंककबाट ओली बिहीबार फर्किएलगत्तै दुई नेताबीच लामो कुराकानी भएको हो । माओवादी नेता वर्षमान पुनले पनि छलफल धेरै सकारात्मक रहेको र निर्णायक मोडमा पुगेको प्रस्ट संकेत गरे । ‘उहाँहरूबीच करिब तीन घन्टा धेरै सकारात्मक छलफल भएको बुझिएको छ, अब छिटै सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु