प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा किन बोलाइएन ओली र प्रचण्डलाई ?

काठमाडौं । प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्। सरकारले बुधबार सातै प्रदेशका प्रमुखको सिफारिस गरेको थियो।

प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ल प्रमुख रहेका छन्।
राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चाहिँ बालकोट स्थित ओली निवासमा लामो वार्तामा थिए।

जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो। आखिर प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित शपथ ग्रहण कार्यक्रममा ओली–प्रचण्ड किन गएनन्?

के सरकारले एक पक्षीय रुपमा नियुक्त गरेका प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम भएकाले त्यसलाई टार्नकै लागि ओली र प्रचण्ड तीन घण्टा गोप्य वार्तामा बसेका हुन्? शपथ ग्रहण कार्यक्रममा नदेखिएपछि हामीले यो प्रश्नको जवाफ खोतल्ने प्रयास गर्‍यौं।

खोजीनीति गर्दा थाहा भयो, ओली र प्रचण्डलाई शपथ ग्रहण कार्यक्रमका लागि राष्ट्रपति कार्यालयमा बोलाइएकै रहेनछ। प्रधानमन्त्री देउवा समेत उपस्थित प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा कार्यक्रममा किन बोलाइएन त ओली र प्रचण्डलाई?

यसको कारण मर्यादाक्रम नमिल्ने भएकाले रहेछ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, पूर्व प्रधानमन्त्री नै भएपनि मर्यादाक्रममा माथि भएकाले प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्वय ओली र प्रचण्डलाई नबोलाइएको हो।

पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति र उपराष्ट्रपति क्रमश पहिलो र दोस्रो मर्यादाक्रममा छन् भने त्यसपछि प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व राष्ट्रपति र वहालवाला उपप्रधानमन्त्री छन्।

मर्यादाक्रमको सातौं नम्बरमा मन्त्री, विपक्षी दलको नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, उपसभामुख र पूर्व सभामुख छन्। प्रदेश प्रमुखको मर्यादाक्रम निर्धारण नगरिएपनि सम्भवत उनीहरु मन्त्री भन्दा माथि, तर उपप्रधानमन्त्री भन्दा तल रहनेछन्।

‘माथिल्लो मर्यादाक्रममा रहेका, तर पदीय हिसावले ‘पूर्व भइसकेका’ व्यक्तित्वलाई तल्लो मर्यादाक्रमको व्यक्तिको शपथग्रहण कार्यक्रममा बोलाउने प्रचलन छैन’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘यही परम्परा अनुसार उहाँहरुलाई निम्तो नदिइएको हो।’

सम्बन्धित शिर्षकहरु