के आधारमा तोकिए प्रदेश राजधानी,कतै दीपावली कतै आन्दोलन

काठमाडौं । सरकारले सातै प्रदेशको अस्थायी राजधानी तोकेको छ। निकै लामो विवाद र छलफलपछि सरकारले बुधबार अस्थायी राजधानी तोकेको हो। बुधबार अपरान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले सातै प्रदेशको अस्थायी मुकाम तोकेको हो। निर्णयअनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को हेटौडा, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को रुपन्देही, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर सातको कैलाली अस्थायी मुकाम तोकिएको छ। यी स्थानलाई प्रदेशसभाको बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी पहिले नै भए पनि विवादका कारण यो निर्णयमा ढिलाइ भएको हो। अस्थायी मुकाम तोक्नेबारेमा दलहरुबीच मात्रै होइन, दलभित्रै पनि मतभेद छ। प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोक्ने तयारी भए पनि धनकुटाका लागि पनि लबिङ भएको थियो छ। प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ। वीरगंजबासीले विरोध जनाए पनि यसमा ठूलो समस्या थिएन। प्रदेश ३ को अस्थायी मुकाम सुरुमा भक्तपुर तोक्ने तयारी भए पनि हेटौंडा तय भएको छ।

प्रदेश ४ को अस्थायी मुकाम कास्कीलाई प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा विवाद चले पनि अन्तत: रुपन्देही नै कायम भएको छ। ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भनिए पनि कैलाली तय भएको छ।

पाँच नम्बरको राजधानी रुपन्देही यसरी तय भयो

प्रदेश नम्बर पाँचको अस्थायी केन्द्र दाङ तोक्ने तयारीविरुद्ध कांग्रेससहित मुख्य दलका नेताहरुले असहमति जनाएपछि मंगलबार बैठक स्थगित भएको थियो। प्रदेश पाँचको अस्थायी मुकाम बुटवललाई बनाउनुपर्ने भन्दै कांग्रेसका अधिकांश नेताहरुले देउवालाई सामूहिक ज्ञापनपत्र बुझाएका थिए।क

प्रदेशसभाको दुई तिहाइ सदस्यहरु बुटवलको पक्षमा देखिएपछि रुपन्देहीलाई केन्द्र तोकिएको हो। यातयात, साधनस्रोत, हवाइ पहुँच, पूर्वाधार सबै हिसाबले बुटवल स्वभाविक रुपमा राजधानीका लागि उपयुक्त रहेकोले यसमा विवाद नगर्न पाँच नम्बर क्षेत्रलाई प्रतिनिधित्व गर्ने एमाले, माओवादी र कांग्रेसका नेताहरुले सामूहिक रुपमा अपिल गर्दै आएका थिए।

प्रदेश ५ को प्रदेशसभामा समानुपातिक ३५ र प्रत्यक्ष ५२ गरी कुल ८७ सदस्य छन्। प्रदेशसभामा एमाले ४१, कांग्रेस १९, माओवादी २०, फोरम २, राजपा १, राजमो १ स्थानमा जितेका छन् । साठीभन्दा बढी सदस्यहरु बुटवलको पक्षमा छन्।

भगवान् गौतम बुद्धको जन्मस्थानलाई राजधानी बनाएकोमा यहाँका राजनीतिकर्मी, बुद्धिजीवी, व्यवसायी र सर्वसाधरण सबैले प्रशन्नता व्यक्त गरेका छन्। बुटवल अब बुद्धको प्रदेश तथा शान्तिको प्रतिकको रुपमा रहने भनाइ प्रदेशबासीको छ। पाँच नम्बर प्रदेश जोगाउनका लागि भएको जनआन्दोलनको केन्द्र पनि बुटवल थियो । पाँच नम्बर प्रदेशलाई फुटाउने डिजाइनलाई असफल तुल्याउन बुटवल केन्द्रित आन्दोलनको महत्वपूर्ण योगदान छ। त्यो हिसाबले पनि पाँच नम्बर प्रदेशको राजनीतिक विरासत बोकेको बुटवलले राजधानी बन्न स्वभाविक राजनीतिक हैसियत राखेको हो।

पाँच नम्बर साधनस्रोत, पर्यटन, संस्कृति र पूर्वाधार सबै हिसाबले सबैभन्दा समृद्ध प्रदेशको रुपमा रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी यही प्रदेशमा रहेकोले यो प्रदेशको विश्वव्यापी पहिचान हुनेछ। अन्तराष्ट्रिय विमानस्थल पनि रुपेन्देहीमा बन्दै गरेकोले यो प्रदेशमा अन्तराष्ट्रिय हवाइ पहुँच छ। जसले यहाँको पर्यटन विकासलाई नयाँ उचाइ प्रदान गर्नेछ।

 

 

सम्बन्धित शिर्षकहरु