सरकारले प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्यो, प्रदेश प्रमुखले यस्तो सुविधा पाउने

काठमाडौं । सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। बुधबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

प्रदेश प्रमुखले के-के पाउँछन् सुविधा ?

प्रदेश प्रमुखले मासिक १ लाख ४ हजार रुपैयाँ तलब पाउँछन् जसमध्ये ४० हजार रुपैयाँ अतिथि सत्कार र भैपरी खर्च हुनेछ। संविधानले देशका सात प्रदेशमा केन्द्रमा राष्ट्रपति सरहको अधिकार दिएर प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ। अतिथि सत्कार र भैपरी खर्चका रुपमा उपलब्ध गराइने ४० हजार रुपैयाँको बिल भरपाइ पेश गर्नु नपर्ने व्यवस्था छ। पारिश्रमिकको रुपमा छुट्टै प्राप्त हुने भने ६४ हजार रुपैयाँ हो। यसबाहेक वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा पनि उपलब्ध हुनेछ। प्रदेश प्रमुखले स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार भत्ता पाउने छन् भने विदेशमा भ्रमण गर्दा दैनिक २५० अमेरिकन डलर पाउने छन्।

युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम दिने व्यवस्था ऐनमा छ। प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा नचलाउने व्यवस्था पनि ऐनमा गरिएको छ।

त्यतिमात्र हैन प्रदेश प्रमुखले स्वेदशमा उपचार गराउँदा वा मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गराउँदा उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ। त्यतिमात्र हैन कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च वापत् एकजनाको मनासिब खर्च पनि नेपाल सरकारले उपलब्ध गराउनेछ। पाँच वर्षको पदावधि हुने प्रदेश प्रमुख बन्न संविधानले संघीय संसदको सदस्य हुन योग्य भएको, ३५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको योग्यता निर्धारण गरेको छ। प्रमुखको नियुक्ति राष्ट्रपतिले गर्ने प्रावधान संविधानमा राखिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु