अष्ट्रेलियामा ‘इलिगल’ बस्नेको संख्या बढ्यो,अवैध बस्नेमा कुन देशको नागरिक कति?


सिड्नी । अमेरिका र युरोप अनि जापान र कोरियामा अवैध रूपमा बिभिन्न देशका नागरिक रहेको समाचार छापामा आइरहँदा अष्ट्रेलियामा भने अमेरिकन र ब्रिटिस नागरिक पनि गैरकानुनी रुपमा लुकीछिपी बस्दै आएको तथ्य सार्वजनिक भएको छ।

यतिखेर अस्ट्रेलियाको अध्यागमन विभागले नयाँ तथ्य सार्वजनिक गर्दै ६४ हजार बिदेशी अस्ट्रेलियामा बिना भिसा गैरकानुनी रूपमा बस्दै आएको जनाएको छ ।

६४ हजार गैरकानुनी मध्ये पाँच हजार सात सय अमेरिकी गैरकानुनी रुपमा अस्ट्रेलियामा लुकेर बसिरहेको तथ्य सार्वजनिक भएको हो। यो आफैंमा रमाइलो घटना हो। संसारको सक्तिशाली र धनी राष्ट्रका नागरिक पनि बिदेशमा गैरकानुनी रुपमा बस्नु पर्ने हुँदोरहेछ।

अमेरिकनबाहेक तीन हजार ६ सय ब्रिटिस नागरिकसमेत बिना भिसा अस्ट्रेलियामा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। बेलायतको महारानीलाईनै अस्ट्रेलियामा सर्बेसर्बाको रुपमा मानिन्छ। तर पछि बेलायतीहरूनै अस्ट्रेलियामा बिना भिसा लुकेर बस्नुलाई अर्थपूर्ण रूपमा हेरिन्छ।

यस्तै अस्ट्रेलियामा आएका करिब एक तिहाइ विद्यार्थीहरू भिसा बिग्रिएपछि बिभिन्न बहानामा लुकेर बस्ने गरेको तथ्य सार्वजनिक भएको छ। सबैभन्दा बढी गैरकानुनी रुपमा लुकेर बस्ने मलेसियाका नागरिक रहेको अस्ट्रेलियन अध्यागमनले जनाएको छ। जसमा ९ हजार चार सय चालिस मलेसियन बिना भिसा अस्ट्रेलियामा गैरकानुनी रुपमा रहेका छन्। यस्तै ६५ सय चिनियाँ नागरिक र फीलिपीनो, भियतनाम र थाइल्यान्डका २५ सय देखि २८ सयसम्म र भारत ,थाइल्यान्ड र इन्डोनेशियाका दुई दुई हजारको हारहारीमा अस्ट्रेलीयामा गैरकानुनी रुपमा रहेको तथ्यांक अध्यागमनले सार्वजनिक गरेको छ।

नेपालीहरुको नाम सरकारी तथ्यांकमा नरहेता पनि करिब पाँच सयको हाराहारीमा नेपाली अस्ट्रेलियामा बिना भिसा गैरकानुनी रुपमा रहेको अनुमान गरिएको छ। विद्यार्थीमा आएर भिसा बिगारेका र केही भिजिट भिसामा आएर यतै लुकेर बसेको अनुमान गरिएको छ।

सम्बन्धित शिर्षकहरु