नेता ज्यू ? राजनीतिक मुद्दा सकिएकै हो त ?

काठमाडौं ।  मुलधारका राजनीतिक दलहरुले अब नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको बताएका छन् । खासगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र यो मुलुकका मुलधारका राजनीतिक पार्टीहरु हुन् । ०५२ सालअघि काँग्रेस र एमालेको जुन धार थियो, अहिले नेकपा (माओवादी केन्द्र)ले सोही धार अंगालेको छ । यसैगरी नयाँ शक्ति पार्टी लगायतका अन्य साना पार्टीहरुले पनि अबको राजनीतिक भन्दा पनि आर्थिक क्रान्ति नै मुख्य भएको बताएका छन् । नेपालका प्रायः राजनीतिक पार्टीहरुले अब सम्पूर्ण राष्ट्रको ध्यान समृद्धि अर्थात धनि बन्नु नै हो भनेका छन् ।

धनसम्पत्तिले नै सबै कुराको फैसला हुन्छ भन्ने मान्यतामा पुगेपछि धन कमाउने र पैसा थुपारे जेसुकै पनि प्राप्त हुन्छ भन्ने हो । यसलाई राजनीतिक भाषामा पुँजीवाद भनिन्छ । अहिले आर्थिक समृद्धिको नारा लगाउने सबै राजनीतिक दलहरु पुँजीवादी दल हुन् । संसदीय व्यवस्था दलाल पुँजीवादीहरुको संरक्षणमा टिकाउ हुन्छ र संसद समेत आर्थिक प्रलोभनमा उतार चढाव हुन्छ ।
संविधानअनुसार नेपालमा अब ३ तहका सरकार बन्नेछन् ।

स्थानीय तहको गठन भई कामकार्वाही धमाधम भईरहेका छन् । प्रदेश र संघको चुनाव सम्पन्न भईसकेको महिना कटिसकेको छ । अब प्रदेश र संघीय सरकार गठनको तयारीमा छ । चुनावमा प्राय दलहरुले आफ्ना चुनावी घोषणा पत्रमा आर्थिक समृद्धिको बाटोमा पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्ने कुरा उल्लेख गरेका छन् । यसैको उपज माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण कै तहमा समेत पुगिसकेको छ ।

बिचार मिल्ने, सिद्धान्त मिल्ने भएपछि फरक पार्टीको खासै औचित्य रहँदैन । हिजो जनयुद्धताका माओवादी पार्टी मुलुकमा राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना र संघीयताको समेत सफल कार्यान्वयन भइसकेको भन्दै अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने धारमा आईपुगेको छ । उक्त माओवादी केन्द्रले समाजवादमा पुग्नका लागि पुँजीवादको चरण पुरा गरेरै मात्र सम्भव हुने दाबी सहित आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको छ । नीतिगत रुपमा काँग्रेस र कम्युनिष्ट बीचमा पनि तात्विक अन्तर देखिन्दैन । नाममा मात्रै काँग्रेस र कम्युनिष्ट भनिए पनि नीति तथा कार्यक्रमहरु लगभग उस्ताउस्तै छन् ।

बरु फरक धार र पहिचानमा अहिले पनि केही दलहरु क्रियाशिल छन् । मधेशवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम पहिचानकै आन्दोलनलाई आफ्नो मुख्य मुद्दा बनाएका छन् । त्यसैगरी यस सम्पूर्ण प्रक्रियालाई नै चुनौति दिँदै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सशस्त्र भूमिगत अवस्थामा नै छ । नेकपा सशस्त्र कि निशस्त्र भन्ने कुरा गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश र संघीय सभाको चुनावताका प्रष्ट भएको छ ।

सो पार्टीका १ हजार भन्दा बढि नेताहरु गिरफ्तार हुनु र हतियारसहित पक्राउ पर्नुले नेकपा सशस्त्र पार्टी नै हो । नेकपाले सशस्त्र युद्धबाटै राज्यसत्ता कब्जा गर्ने र सर्वहारा श्रमजीवि वर्ग राज्यसत्तामा रहने माक्र्सवादी, लेलिनवादी, माओवादी सिद्धान्तलाई अंगिकार गरिरहेको छ । त्यस्तै कुनाकाप्चाबाट पूर्वराजावादी, धर्म, जात, क्षेत्र आदिका नाममा समेत राजनीतिक गर्नेहरु देखिन्छन् । तर मतदातालाई आधार मान्दा अत्याधिक जनता काँग्रेस, एमाले र माओवादीसँगै देखिएकाले मुलुकमा अब पुँजीवाद नै रुचाएको प्रष्ट हुन्छ ।

नेताले जे भने त्यसैको पछि दगुर्ने जनता भन्दा मुलुकको आवश्यकतालाई महशुस गर्नसक्ने जनता शिक्षित हुन् । अझ चेतनशील जनताले त नेतालाई सहि सुझाव र दिशानिर्देशन गर्न सक्छन् । के अहिले साच्चिकै देशमा राजनीतिक परिवर्तन भएकै हो त ? अझै पनि मुलुकमा विद्यमान जातीय विभेद छुवाछुत जस्ता अपराध, शिक्षा, स्वास्थ्य, गाँसबास, कपास जस्ता आधारभूत विषयमा असमानता छ ।

धनसम्पत्ति र रुपैयाँ पैसाका कारण अन्य राजनीतिक समस्याहरु हल भए पनि जातीय छुवाछूत र विभेद भने आर्थिक कारणले नै समाप्त हुँदैन । विभेद अन्त्यका लागि सांस्कृतिक क्रान्ति आवश्यक छ । पछौंटे संस्कार संस्कृतिका कारण अझै पनि धेरै धनाढ्यहरुले कमजोर वर्गमाथि अन्याय गरिरहेका छन् । यसैकारण पनि आर्थिक समृद्धिसँगै विभेदयुक्त समाजको अन्त्य गरी समतामूलक समाज निर्माणमा जोड दिइनुपर्छ । यो राजनीतिक मुद्दा हो । धर्म, जात, वर्ग, आदिका हिसावमा गरिने भेदभाव, लिङ्गका आधारमा हुने भेदभाव, क्षेत्र तथा रङ्गका आधारमा हुने भेदभाव अन्त्य गर्न केवल आर्थिक समृद्धिको नाराले सम्भव छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु