सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो – नेता नेम्वाङ

काठमाडौँ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । दोलखा–काठमाडौँ सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन अायोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताएका हुन् ।

‘सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ’–उनले भने, ‘होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस् ।’ उनले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको धारणासमेत व्यक्त गरे ।

वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गर्दै व्यवहारमा एमाले र नेकपा माओवादी केन्द्र एक भइसकेको र अब सैद्धान्तिक हिसाबले मात्र एक हुन बाँकी रहेको उनले बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्तरुप दिइने पनि उनले बताए । मुलुकमा राजनीतिक दलको निर्वाचन प्रतिस्पर्धा सकिएकाले अब समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको पनि उनले जिकिर गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु