तोकिएन प्रदेश प्रमुख र राजधानीः किन पछि हट्यो सरकार ?

काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी नतोकि मन्त्रिपरिषद् बैठक सकिएको छ । सरकारले अाजै प्रदेश प्रमुख र राजधानी तोक्ने भनि चर्चा भएपनि यस विषमा कुनै निर्णय नगरि मन्त्रिपरिषद् बैठक सकिएको हो ।प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको थियो ।

प्रदेश प्रमुख नियुक्त गर्ने र उनीहरु बस्ने अस्थायीमुकाम तोक्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न राजनीतिक दल र सरोकारवालसंग छलफल गरेका थिए । परामर्शपछि नै शुक्रबार नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारीबाट प्रधानमन्त्री देउवा पछि हटेका हुन् । छलफलमा सरकारले प्रदेश प्रमुखसँगै अस्थायी कार्यालय पनि तोक्नुपर्ने र अस्थायी कार्यालय तोक्दा जनतामा त्यो नै अस्थायी राजधानी हो भन्ने सन्देश जाने सुझाव आएपछि प्रधानमन्त्री तत्काल प्रदेश प्रमुख नियुक्त गर्ने निर्णयबाट पछि हटेको स्रोतको दावी छ ।

देउवा नेतृत्वको सरकार काम चलाउ भैसकेको दावी गर्दै एमाले र माओवादीले सरकारले गरेको निर्णय नमान्ने बताएपछि सरकारले प्रदेश प्रमुख तोक्ने निर्णय गर्न सकेको छैन् । यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो। सरकारले सोमबार मात्रै यस विषयमा निर्णय गर्ने स्रोतले जानकारी दियो ।

आज (शुक्रबार) बसेको बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए । त्यस्तै, बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु