राष्ट्रिय सभा चुनाव: कुन प्रदेशमा कुन पार्टीको कति मत ?

काठमाडौं ।राष्ट्रिय सभा सदस्य निर्वाचन माघ २४ गतेको लागि तोकिएको छ । निर्वाचनको लागि आयोगले निर्वाचन तालिकापनि सार्वजनिक गरिसकेको छ । सार्वजनिक कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्नेछ र सोही दिन प्रकाशित नामावलीमा दाबी विरोधको समय दिएको छ। उजुरी उपर छानबिन गर्दै माघ ७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। माघ १० गते उम्मेदवारको सूची प्रकाशन गरिनेछ। उम्मेदवारको सूचीमाथि दाबी विरोधका लागि आयोगले माघ ११ र १२ गते छुट्याएको छ। उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ।

आयोगले त्यसको भोलिपल्ट अर्थात् माघ १४ गते मनोनयका लागि उम्मेदवारी दिएका उम्मेद्वारको नामावली प्रकाशन गर्नेछ। आयोगले एक दिन माघ १५ गतेको समय नाम फिर्ताका लागि छुट्याएको छ। त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते प्रकाशन गरिनेछ। ७ प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान गरिनेछ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछ ।

कुन प्रदेशमा कति छन् मतदाता ?
राष्ट्रिय सभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर–२ मा छन् भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा छन् । यी दुई प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रिय सभा सदस्य भने समान संख्यामा चुनिने छन् । राष्ट्रिय सभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरेको छ ।

सबभन्दा बढी मतदाता रहेको प्रदेश नम्बर–२ का सबै मतदाताको मतभार १० हजार ३२ हुने भएको छ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कूल संख्या २ सय ७२ छ । स्थानीय तहको संख्या १ सय ३६ रहेकाले स्थानीय तहबाट मतदाता संख्या त्यसको दोब्बर रहनेछ । उक्त प्रदेशको कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।

त्यसपछि प्रदेश नम्बर–१ मा मतदाता धेरै छन् । तर, मतभारको तुलना गर्ने हो भने प्रदेश नम्बर–२ पछाडि प्रदेश नम्बर–३ छ । प्रदेश नम्बर–१ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २ सय ७४ गरी ३ सय ६७ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तह १ सय ३७ छन् । सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ हुन आउँछ ।

प्रदेश नम्बर नम्बर–३ मा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य १ सय १० गरी ३ सय ४८ जना कूल मतदाता छन् । यस प्रदेशका मतदाताको मतभार ९ हजार ५ सय ६४ हुनेछ । मतदाताको संख्या र मतभारमा प्रदेश ४ भने चौथो स्थानमा छ । त्यहाँ प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० गरी कूल मतदाताको संख्या २ सय ३० छन् ।

उक्त प्रदेशमा स्थानीय तहको संख्या ८५ छ । सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ । प्रदेश नम्बर–५ मा सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ । त्यहाँ प्रदेशसभा सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ९ छ ।

प्रदेश ६ मा अन्य सबै प्रदेशभन्दा कम मतदाता छन् । त्यहाँ प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कूल १ सय ९८ मतदाता मात्रै छन् । ती मतदाताको मतभार ४ हजार ७ सय ६४ हो । उक्त प्रदेशमा स्थानीय तहको संख्या ७९ छ । कूल मतदाता २ सय २९ रहेको प्रदेशसभा ७ मा मतदाताको मतभार ५ हजार ७ सय ८ हुन आउँछ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ छन् । त्यहाँ स्थानीय तहको संख्या ८८ छ ।

कुन पार्टीको मत कति ?

प्रदेश नम्बर १ः

स्थानीय तहः प्रदेश नम्बर १ मा स्थानीय तह र प्रदेशसभा दुवैतिर एमालेको एकल बहुमत छ । एमालेले स्थानीय तहमा प्रमुख र उपप्रमुख गरि १५३ जना जितेको छ भने भने प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको छ । त्यस्तै समानुपातिकतर्फ एमालेले १५ सिट पाउँदामा ५१ जना मतदाता छन् ।

१ नम्बर प्रदेशबाट एमालेको कुल मतदाता संख्या २०४ छ । जुन कुल मतदाता संख्याको बहुमत हो । १ नम्बर प्रदेशमा माओवादीको मत स्थानीय तहमा २० मात्र छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १० र समानुपातिक ५ गरि १५ जना मतदाता छन् । माओवादीको कुल मत ३५ समेत थपिँदा बामपन्थी गठबन्धनको पक्षमा २३९ मत हुनेछ।कांग्रेसको पक्षमा स्थानीय तहका प्रमख रउपप्रमुख ९७ जना र प्रदेशसभाका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक १३ गरि २१ मतदाता छन् । कांग्रेसका कुल मतदाता ११८ रहेका छन् भने संघीय समाजवादी फोरमका स्थानीय तहमा ४ र प्रदेशसभामा ३ गरि ७ जना मतदाता छन् ।

प्रदेश नम्बर २ः

प्रदेश नम्बर २ मा कुनै पनि दलको बहुमत छैन । स्थानीय तहको मतमा कांग्रेस अगाडि भए पनि प्रदेशसभामा मधेशवादी गठबन्धन मिलेर लड्दा उनीहरुको बहुमत छ । वामपन्थी गठबन्धन यहाँ दोस्रो स्थानमा छ।प्रदेश नम्बर २ मा स्थानीय तहमा कांग्रेसका ७२ मतदाता छन् । प्रदेशसभामाप्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ११ गरि १९ मतदाता छन् । कुल मिलाएर कांग्रेसका ९१ मतदाता २ नम्बर प्रदेशमा छन् ।एमालेका स्थानीय तहमा ४० र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १४ र समानुपातिक ७ गरि २१ सदस्य छन् । २ नम्बर प्रदेशमा एमालेका कुल मिलाएर ६१ मतदाता हुनेछन् ।

त्यस्तै माओवादीका स्थानीय तहमा ४४ र प्रदेशमा ११ गरि ५५ मतदाता छन् । वामपन्थी गठबन्धनको पक्षमा यो प्रदेशबाट ११६ मतदाता हुनेछन् ।राजपाका स्थानीय तहमा ५४ प्रमख उपप्रमुखछन् । त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १५ र समानुपातिक १० गरि २५ सांसद छन् ।

कुल मिलाएर राजपाका ७९ मतदाता हुनेछन् । संघीय समाजवादी फोरमकास्थानीय तहमा ४९ मतदाता छन् । प्रदेशमा प्रत्यक्ष निर्वाचित १९ र समानुपातिक ९ गरी २८ सांसद छन् ।कुल मिलाएर फोरमका ७७ मतदाता छन् । मधेशवादी दलको गठबन्धन बनाएर चुनावमा जाँदा यो गठबन्धनको पक्षमा २ नम्बर प्रदेशमा १५६ मतदाता हुनेछन् । यहाँ पनि मधेशवादी गठबन्धन र बामपन्थी गठबन्धनको प्रतिस्पर्धामा कांग्रेसले कुनै सिट नपाउन सक्छ ।

प्रदेश नम्बर ३ः

प्रदेश नम्बर ३ मा स्थानीय तह र प्रदेशसभा दुवै ठाउँमा एमालेको एकल बहुमत छ । वामपन्थी गठबन्धन हुँदा कांग्रेस निकै पछि पर्नेछ । ३ नम्बर प्रदेशबाट स्थानीय तहका प्रमुख र उपप्रमुख गरि एमालेका १३५ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ४२ र समानुपातिक १६ गरि एमालेका ५८ मतदाता हुनेछन् ।एमालेका कुल मतदाता १९३ हुनेछन् । त्यस्तै माओवादीबाट स्थानीय तहका २६ र प्रदेशसभामा २३ गरी कुल ४८ जना मतदाता छन् ।

कुल मिलाएर यो प्रदेशबाट वामपन्थी गठबन्धनका २४१ मतदाता हुनेछन् ।त्यस्तै कांग्रेसका स्थानीय तहका ६२ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १४ गरि २१ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८३ हुनेछ । यो प्रदेशबाट विवेकशील, राप्रपा, नयाँ शक्तिका पनि केही मतदाता छन्, जुन निणरयक संख्या होइन ।

प्रदेश नम्बर ४ः

प्रदेश नम्बर ४ मा एमाले र कांग्रेसका मतदाता संख्या लगभग बराबरी देखिएको छ । एमालेका स्थानीय तहका ७१ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक १० गरि २७ सांसद छन् । कुल मिलाएर यो प्रदेशमा एमालेका ९८ जना मतदाता छन् ।माओवादीका स्थायी तहका १२ मात्र मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ९ र समानुपातिक ८ गरि १७ मतदाता छन् । माओवादीका कुल २९ मतदाता र एमालेका ९८ मिलाउँदा वामपन्थी गठबन्धनको पक्षमा १२७ मत हुनेछ ।नेपाली कांग्रेसका स्थानीय तहका ८१ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ९ गरि १५ सांसदछन् । कांग्रेसको कुल मिलाएर ९६ मत हुने यो प्रदेशसमा एकल संक्रमणीयबाट कांग्रेसले एक वा दुई सिट जित्न सक्छ । यस प्रदेशबाट राष्ट्रिय जनमोर्चा र नयाँशक्तिको पनि केही मतदाता छन् ।

प्रदेश नम्बर ५ः

प्रदेश नम्बर ५ मा स्थानीय तहका प्रमुख रउपप्रमुख गरि एमालेका ९१ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित २७ र समानुपातिक १३ समेत ४० जना सांसद छन् । कुल मिलाएर यो प्रदेशबाटएमालेका १३१ मतदाता हुनेछन् ।त्यस्तै माओवादीका स्थानीय तहबाट ३७ जनामतदाता छन् भने प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १५ र समानुपातिकबाट ६ जना गरि २१ सांसद छन् ।

माओवादीको कुल मतदाता संख्या ५८ रहेको छ । यसरी ५ नम्बर प्रदेशमा बामपन्थी गठबन्धनका १८९ मतदाता छन् ।नेपाली कांग्रेसका स्थानीय तहका प्रमुख र उपप्रमुख गरि ६८ मतदाता छन् ।प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १२ सहित १९ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८७ हुनेछ । यो प्रदेशबाट संघीय समाजवादी फोरमको पनि १२ मत हुनेछ । स्थानीय तहका १६ र प्रदेशसभाका ४ गरि फोरमका १६ मतदाता छन् ।यो प्रदेशसबाट राजपा,राजमो र नयाँ शक्तिका पनि केही मत छन् । तर ती निणरयक हुने अवस्था छैन ।

प्रदेश नम्बर ६ः

प्रदेश नम्बर ६ मा एमालेको एकल बहुमत छ । स्थानीय तहमा एमालेका ५९ मतदाता छन् भने प्रदेशसभामा २० मतदाता छन् । कुल मिलाएर एमालेको ७९ मत छ । माओवादीको स्थानीय तहमा ५४ र प्रदेशसभामा १३गरि ६७ मत जोड्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत हुनेछ ।यो प्रदेशबाट कांग्रेसका स्थानीय तहबाट ४२ मतदाता छन् भने प्रदेशसभाबाट ६ मत जोड्दा ४८ मात्र हुन्छ । यो प्रदेशबाट राष्ट्रियसभामा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम छ ।

प्रदेश नम्बर ७

७ नम्बर प्रदेशमा एमालेका स्थानीय तहमा ८३ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक ८ गरी एमालेका २५ मतदाता छन् । कुल मिलाएर एमालेका १०८ मतदाता हुनेछन् । माओवादीकास्थानीय तहमा १९ र प्रदेशसभामा १९ गरि ३८मतदाता छन् । वामपन्थी गठबन्धनको यहाँ पनि बहुमत हुनेछ ।कांग्रेसका स्थानीय तहमा ७४ मतदाता छन् भने प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ४ र समानुपातिक ८ गरी १२ जना मतदाता छन् । कांग्रेसको मत कुल मिलाएर ८६ हुनेछ । यहाँ कांग्रेसले एकल संक्रमणीयबाट एक दुई सिट जित्न सक्छ ।

कसरी गठन हुन्छ राष्ट्रियसभा ?

संविधानको भाग ८ मा संघीय व्यवस्थापिका गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने ११० जना सदस्य रहन्छन् । प्रतिनिधिसभाको कार्यकाल संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक पाँच वर्षको हुनेछ ।

त्यस्तै संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा एक स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ । निर्वाचक मण्डलमा सातै प्रदेशका जम्मा ५५० जना प्रदेशसभा सदस्य, ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष एक हजार ५०६ स्थानीय पदाधिकारी गरी दुई हजार ५६ सदस्य रहन्छन् ।

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरीे निर्वाचित ५६ जना रहन्छन् । त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा २४६ मा निर्वाचन आयोगले संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने उल्लेख छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु