अष्ट्रेलियामा ८० वर्षयताकै गर्मी, ठूलो समूहमा चमेरा मृत फेला


अष्ट्रेलिया । अष्ट्रेलियामा सयौँको सङ्ख्यामा उडिरहेको चमेराको एउटा ठूलो समूह अत्यधिक गर्मीका कारणले सबै भुईँमा खसेर मृत फेला परेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सीड्नीको दक्षिण पश्चिमी क्षेत्रको तापक्रम आइतबार ४७ डिग्री पुगेपछि यस्तो भएको बताइएको छ । वन्यजन्तुहरुलाई लगातार पानी प्रदान गर्ने कार्यमा थुप्रै स्वयंसेवकहरु लागि परेको भएपनि गत आइतबार अष्ट्रेलियामा ८० वर्ष यताकै सबैभन्दा तातो हावा र उच्च तापक्रम महसुस भएको मौसमविद्ले बताएका हुन् । पछिल्लो हप्तादेखि नै जीवजन्तुहरुलाई जोगाउने अभियान अन्तर्गत स्वयंसेवकहरुले तिनीहरुलाई शितल स्थानमा लैजाने र पानी पिलाउने गरिरहेकाले केही हद्सम्म बचाउन सकिएको भएपनि अझै थुप्रै सङ्ख्यामा मृत फेला परेको खबर गरिएको बताइएको छ ।

विशेषगरी बच्चाहरु आफूलाई जोगाउन सक्षम नभएकाले तिनीहरुको बढी मृत्यु हुने गरेको पाइएको छ । यसरी सयौँ चमेराहरु एकैपटक मर्नुपछाडिको कारण भने उनीहरुको दिमागभित्रको तरल पदार्थ गर्मीका कारण बिग्रिएर हुन सक्ने अनुमान गरिएको छ । यस्तोमा तिनीहरुको दिमागले काम गर्न छाडेपछि अत्यधिक तातो सहन नसकेर उनीहरु एकएक गर्दै मरेको क्याम्पबेल्ट टाउनका म्यानेजरले बताएका छन् ।

उता मेलबर्नको तापक्रम पनि ४० डिग्री पुगिसकेको बताइएको छ । यसका कारणले पोल र केबल लाइनमा असर परेकाले बत्ती नहुँदा ४०० भन्दा बढी घरहरु प्रभावित भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु