भूमी कारोबारले अष्ट्रेलियामा समृद्ध बन्दै नेपाली

सोहम सुवेदी,अष्ट्रेलिया । अष्ट्रेलियामा भूमी अर्थात् घरजग्गा सम्बन्धि कारोबार गर्ने नेपालीहरु स्थीर सम्पत्तिको मुल्य बढेर समृद्ध हुँदै गएका छन् । घरजग्गा कारोबारकै विषयमा औपचारिक शिक्षापछि आफ्नै व्यवसाय शुरु गरेकाहरुको उन्नतीको स्तर अझ उच्च खालको छ । दुईवर्ष अघिसम्म नेपालीले अष्ट्रेलियन, चिनियाँ वा भारतीय मूलका नागरिकले खोलेका रियल स्टेट कम्पनीमा काममात्रै गर्थे । पछिल्लो समय नेपालीहरुले पूर्णरुपमा घरजग्गा कारोवार गर्न तीनवटा रियल स्टेट कम्पनी नै सञ्चालन गरिरहेका छन् । केहि नेपालीहरु भने विदेशीले सञ्चालन गरेको रियल स्टेट कम्पनीको उच्च आहोदामा काम गर्छन् ।

दुईवर्ष अघि सिड्नीको एड्मेन्सन पार्कको हेमीरोडमा घर किनेका नवलपरासी गैँडाकोटका खगराज पौडेलको अनुभवमा हरेक वर्ष ५० देखि ८० हजार अष्ट्रेलियन डलरका दरले हरेक घरघडेरीको भाउ बढिरहेको छ । पौडेलले दुईवर्ष अघि किनेर आफु बसिरहेको घरजग्गाको मुल्य दुई लाख अष्ट्रेलियन डलरले बढेको छ । विशेषगरी नेपाल, बंगलादेश, चीन, भारत लगायतका देशबाट स्थायी आवासको अनुमति पीआर पाएकाहरुले आफ्नै समुदायका व्यक्तिहरु वसिरहेको क्षेत्रमा घरजग्गा किन्न खोज्छन् । आफ्नो समुदायका व्यक्तिहरु बसेको ठाउँमा विशेष आकर्षण हुन्छ र त्यस्ता क्षेत्रको घरजग्गाको भाउ तुलनात्मक रुपमा बढ्ने गर्छ ।
सिड्नी र मेलवर्नमा घरजग्गा किनबेच र भाडामा लगाउने कारोबार गरिरहेको मल्टी डाइनामिकका व्यवस्थापक मेघराज पौडेलका अनुसार सिड्नीको मुख्य शहरदेखि २०–५० किलोमिटरसम्मको दुरीमा सामाजिक सुरक्षा राम्रो भएको क्षेत्रमा दुईवर्ष अघि घर किनेकाहरुले आफुले तिरेको भन्दा लगभग दुईलाख डलर बढि मुल्य पाईरहेका छन् । पौडेल भन्छन्, पछिल्लो दुई वर्षमा सवैभन्दा कमचल्तीको क्षेत्रमा सालाखाला प्रतिघर ८० हजार डलर र राम्रो चल्तीको क्षेत्रमा घरजग्गा किनेकाहरुले डेढदेखि दुईलाख डलरसम्म बढि मुल्य पाईरहेका छन् ।

अष्ट्रेलिया सरकारले विदेशी नागरिकलाई स्थायी आवास अनुमति पीआर दिएसँगै उनीहरुको वसोवासका लागि शहर नजिकको जमिन एकीकरण गरेर नयाँ बस्ति बसाईरहेको छ । सिड्नी, मेलबर्न, ब्रिसबेनलगायत अष्ट्रेलियका मुख्य शहर नजिकै आउँदो २५ वर्षसम्म कुन क्षेत्रमा कति खालि जमिनमा वस्ती बसाउने भन्नेकुरा सरकारले निक्र्यौल गरिसकेको छ । त्यसैले घरजग्गामा लगानी वा कारोवार गर्ने नेपालीहरुले नयाँ वस्ती विकास हुने क्षेत्रहरु छानेर लगानी गरीरहेका छन् ।

मल्टी डाईनामिकमा विशेष तालिम
अष्ट्रेलियाबासी नेपालीले सञ्चालन गरेका तीनवटा रियल स्टेट कम्पनी मध्येको एक मल्टी डाइनामिकले सिड्नीको इन्गल्वर्न स्थित केन्द्रिय कार्यालयमा घरजग्गा कारोवारको विषयमा विशेष अभिमुखीकरण तालिम आयोजना गरेको छ । यहि २०१८ जनावरीको ८ देखि ११ तारिखसम्म सञ्चालित तालिममा नयाँ घरजग्गा परियोजना, भवन निर्माण, होम लोन, लगानी व्यवस्थापन लगायतका विषयमा छलफलहरु भएका छन् ।
तालिममा अबको दिनमा घरजग्गाको लगानी र त्यसको सहजीकरणका विषयमा बृहत छलफल भएको मल्टी डाइनामिकका विक्री निर्देशक विष्णु प्रभातले जानकारी दिनुभयो । तालिमका प्रशिक्षक तथा अष्ट्रेलियाको मेलवर्नका बरिष्ठ रियल स्टेट कोच टोम पानसका अनुसार “घरजग्गाको कारोवार भनेको व्यक्तिलाई सम्भव भएसम्मको उत्कृष्ट सेवा दिनु हो, व्यापार गर्नु मात्रै होइन !” तालिममा मल्टी डाइनामिकको सिड्नी र मेलबर्न शाखामा आवद्ध जनशक्तिका साथै पूर्णकालिन घरजग्गा कारोवार व्यवसायमा आवद्ध हुन लागेका झण्डै १५ जना नेपाली, एक भारतीय तथा एक बंगलादेशी नागरिक सहभागी थिए ।

नेपालमै बसेर पनि अष्ट्रेलियामा घरजग्गा किन्न सकिन्छ ।
विश्वमै अष्ट्रेलिया यस्तो देश हो जहाँ सन्सारका जनुसुकै देशका मानिसले घर, जग्गा, अपार्टमेन्ट वा युनिट किन्न सक्छन् । अष्ट्रेलिया सरकारले घरजग्गामा लगानी गर्ने जुनसुकै देशका नागरिकलाई स्वागत गर्छ । तर अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति वा नागरिकता नभएका व्यक्तिले जग्गा किन्दा विदेशी लगानीका लागि सरकारको अनुमति भने लिनुपर्छ । विदेशी लगानीको अनुमति पाएका जुनसुकै देशका नागरिकले अष्ट्रेलियाका नागरिकको तुलनामा केहि बढि स्ट्याम्प ड्युटी अर्थात् घरजग्गा पास खर्च तिरेर आफ्नो नाउँमा घरजग्गा किन्न सक्छन् ।
विदेशी नागरिकका लागि घरजगा पास खर्च भने अष्ट्रेलियाको राज्य अनुसार फरक हुन्छ । नेपालीहरुद्घारा नै सञ्चालित मल्टीडाईनामिक रियल स्टेटका विक्री व्यवस्थापक विजय पौल भन्नुहुन्छ पैसा हुने नेपालीले नेपालबाटै अष्ट्रेलियाको घरजग्गामा लगानी गर्नसक्छन् तर त्यसका लागि अष्ट्रेलियाली नागरिकको तुलनामा केहि बढि पास खर्च चाँहि तिर्नुपर्छ । त्यस्तै, विदेशी नागरिकले किनेको स्थीर सम्पत्ति विक्री गरेर प्राप्त हुने मुनाफामा तिर्ने करको दर बढि हुने कर विशेषज्ञ सूरज ऐर वताउनुहुन्छ । तर पास खर्च र मुनाफामा बढि कर तिर्नुपरे पनि राम्रो वस्ती विकास भएको आकर्षक क्षेत्रमा लगानी गरेको खण्डमा घरजग्गामा नाफा हुने व्यवसायीहरु वताउँछन् ।
अष्ट्रेलियामा लगभग १५ जना नेपालीहरु पूर्णरुपमा घरजग्गा कारोबार छन् भने लगभग २० जना नेपालीहरुले आंशिक समय घरजग्गा कारोवारको काम गर्छन् । अष्ट्रेलियाको अधिकांस राज्यमा आप्रवासीहरुको बसाई सर्ने क्रम निरन्तर छ । प्रकृया पुगेका आप्रवासीलाई श्वागत गर्न अष्ट्रेलिया सरकारले शहरसँगै निरन्तर नयाँ वस्ति विकास गरिरहन्छ । पछिल्लो समय सिड्नीको उत्तरी र दक्षिणी क्षेत्रमा बृहद् रुपमा वस्ती विकास भैरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु