प्रदेश प्रमुख सहमतिमै चयन गर्न देउवा अग्रसर

काठमाण्डौ । प्रधानमन्त्रीले शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख चयनका लागि दलीय छलफल सुरु गरेका छन् । मंगलबार कांग्रेसको आन्तरिक छलफलमा दलीय सहमतिमा स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सुझाब आएलगत्तै प्रधानमन्त्री देउवाले दलीय छलफल थालेका हुन् । राष्ट्रिय दल बनेका चार पार्टीका शीर्ष नेतासँग छलफल गर्ने र बिहीबार सर्वदलीय छलफल गर्ने तयारी देउवाले गरेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभाको निर्वाचन सहमतिका आधारमा गर्ने विषयमा छलफल भएको जानकारी दिए । ‘प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने र यसका प्रक्रियाका विषयमा प्रचण्डजीसँग कुराकानी भयो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘यसका लागि बिहीबार पाँच दलको (सर्वदलीय) बैठक डाक्ने कुराकानी भएको छ ।’ राष्ट्रिय दलका शीर्ष नेतासँग ‘वान टु वान’ छलफलपछि बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले विवाद नआउने गरी प्रदेश प्रमुख नियुक्त गर्न पार्टीबाट सुझाब दिइएको जानकारी दिए । ‘छिटो राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा र प्रदेश प्रमुख नियुक्त गर्न सुझाब दिएका छौँ,’ खाणले भने, ‘दलबहरूबीचको सहमतिमा पछि पनि विवाद नआउने गरी राजनीतिकभन्दा स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्नुपर्छ भन्ने हाम्रो सुझाब छ । प्रधानमन्त्रीको तयारी पनि यस्तै छ ।’ राष्ट्रिय दलसँग छलफल गरेपछि आउँदो मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख, प्रदेशका अस्थायी सदरमुकाम र निर्वाचन आयोगसँगको परामर्शमा राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको उनले बताए ।

राष्ट्रिय सभा निर्वाचन २५ माघमा
निर्वाचन आयोगले २५ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाब दिएको छ । मंगलबार प्रधानमन्त्री देउवासँगको भेटमा प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका लागि आवश्यक समयका आधारमा मिति घोषणा गर्न सुझाब दिएका हुन् । भेटमा प्रधानमन्त्री देउवाले आयोगको परामर्शअनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट २५ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने जानकारी दिए ।

यी हुन् ७ प्रदेशका अस्थायी केन्द्र ?
सातवटै प्रदेशका अस्थायी केन्द्रका विषयमा प्रधानमन्त्रीले बिहीबार बिहान सर्वदलीय बैठकमा छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेका छन् । अधिकारसम्पन्न प्रशासन पुनर्र्संरचना समितिले प्रदेशको अस्थायी राजधानीका लागि सम्भावित सहरहरू प्रस्ताव गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी अस्थायी राजधानीको प्रस्ताव तयार पारेको थियो । प्रस्तावित अस्थायी राजधानी तोक्ने विषयमा सरकारले सर्वदलीय छलफल गरी आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै छ ।

मन्त्रिपरिषद् कार्यालयमा प्रदेश नम्बर १ का लागि विराटनगर, प्रदेश २ को जनकपुर, ३ को ललितपुर वा भक्तपुरको ठिमी वा काभ्रेको बनेपा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायल छलफलका लागि प्रस्ताव गरिएको छ ।

कांग्रेसमा पनि सहमतिमै गर्न जोड
कांग्रेसभित्र दलीय सहमतिमै प्रदेश प्रमुख र यसका अस्थायी केन्द्र तोक्न सुझाब आएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा पछि विवाद नहुने गरी दलीय सहमतिका आधारमा प्रदेश प्रमुख र केन्द्र तोक्न सुझाब आएको हो ।

‘राष्ट्रिय सभाको निर्वाचन छिटो गर्नुपर्नेछ । साथै, प्रदेश प्रमुखको नियुक्ति र सातवटै प्रदेशका अस्थायी केन्द्र छिटो तोकेर आफ्नो जिम्मेवारी छिटो पूरा गर्नुस् भनेर सुझाब दिएका छौँ,’ कांग्रेस केन्द्रीय सदस्य डा। रामशरण महतले  भने, ‘विवाद नआउने गरी अरू दलको पनि सहमतिमा प्रदेश प्रमुख र केन्द्र तोक्न प्रधानमन्त्रीलाई भनेका छौँ ।’

एकलौटी प्रमुख तोक्दा अर्को सरकारले उल्टाउन सक्ने भन्दै एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर राजनीतिकभन्दा पनि स्वतन्त्र व्यक्तिलाई प्रमुख बनाउन कांग्रेसभित्रै देउवालाई दबाब छ । आफूहरूको सुझाबमा देउवा पनि सकारात्मक रहेको जानकारी महतले दिए । ‘हाम्रो सुझाबमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, यसका लागि दलीय छलफल पनि थालिसक्नुभएको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु