एमाले-माओवादी एकता प्रक्रिया: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिसहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने भुसालको नयाँ प्रस्ताव छ । यसमा नारायणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु