सरकार गठनमा ‘फोरम निर्णायक’ बाबुराम पनि पुगे बालकोट

काठमाण्डौ । वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरे । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे ।

‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’ दाहालले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३७ सांसद संख्या पुर्‍याउनुपर्छ । एमालेको १२१ र फोरमको १६ जोड्दा ठ्याक्कै बहुमत अर्थात् १३७ पुग्छ । ओलीले माओवादी पक्षलाई यही संख्या देखाउँदै कार्यकारी पदमा आलोपालोसम्बन्धी अनावश्यक बखेडा गर्न नहुने, त्यसो गरिए विकल्प खोजिने चेतावनी दिएका छन् ।

यादवसँग उनको खुसामद त्यसैको नतिजा हो । ती नेताले आफूतिर एमाले-माओवादी नेताले रुचि देखाए भन्दैमा नहौसिन फोरम नेतालाई सुझाव पनि दिए । फोरमसँग तीन चरण कुरा गरेका ओलीले अर्को मधेसी दल राजपासँग भने सम्पर्क गरेका छैनन् । अब बन्ने संसद्मा राजपाको फोरमभन्दा एक सिट बढी अर्थात् १७ सांसद रहे पनि ओलीले ऊसँग सहकार्य गरे ‘इमेज बिग्रने’ भन्दै त्यो संख्यामा रुचि नदेखाएको उनका निकटस्थहरू बताउँछन् ।

नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको  दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

‘गठबन्धनको कुरा अहिले गरिएन, राष्ट्रियसभा अध्यादेशको अड्चन खुलाउन सहमति जुटाउन सल्लाह दिएँ’, भट्टराईले अन्नपूर्णसँग भने, ‘मैले अरू कुनै आकांक्षा राखेको भन्ने सही होइन, अहिले त्यस्तो कुरा गर्नु उपयुक्त हुन्न ।’

ओलीले अध्यादेशमा देउवाले सल्लाह नगरी एकलौटी गरेको टिप्पणी गरेको भट्टराईले बताए । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु