एमाले-माओवादीको पार्टी एकताको मिति तोकियो, यसरी हुने भयो एकता

काठमाडौं । एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् ।एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो । संस्थापक महासचिव पुष्पलालको अगुवाइमा २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

स्थापनाकै दिन दुई फरक–फरक धारको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत भएको घोषणा गर्दा सकारात्मक सन्देश सम्प्रेषित हुने नेताहरूको बुझाइ छ । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरूले यो निष्कर्ष निकालेका हुन् ।

‘२२ अप्रिल अर्थात् आगामी ९ वैशाखमै एकता घोषणा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने, ‘हाम्रो प्रस्ताव पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने भएकाले त्यसपछि नै औपचारिक निर्णय हुन सक्छ, तर अहिल्यै त्यही मिति हो भन्न सकिँदैन ।’ एकता घोषणासभा बृहत् तयारीका साथ सम्पन्न गर्ने दुवै दलको तयारी छ ।

चैत पहिलो सातासम्म कार्यदलले काम गर्ने

दुवै पार्टीका नेताहरू सरकार र संसद्सँग जोडिएको काममै बढी व्यस्त देखिएपछि अन्तरिम राजनीतिक प्रतिवेदन र संगठनसम्बन्धी दुवै कार्यदलले अपेक्षित रूपमा काम अघि बढाउन सकेका छैनन् । अन्तरिम विधान मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार गरेर नेताहरूलाई बाँडेको छ । मस्यौदा अध्ययनपछि आज साँझ गृह मन्त्रालयमै बैठक बोलाइएको छ ।

चैतको पहिलो साता एकता घोषणा हुने गरी २५ फागुनसम्म एकतासँग सम्बन्धित बाँकी कामको गृहकार्य गर्न ओली र प्रचण्डले गृहकार्य गर्न दिए पनि आजबाट मात्रै प्रारम्भिक मस्यौदामा छलफल अघि बढ्ने भएको छ ।

‘अन्तरिम विधानको मस्यौदा र जनसंगठन एकीकरणका लागि तयार गरिएको विधिका सन्दर्भमा आजको बैठकमा विस्तृत रूपमा छलफल हुन्छ’, कार्यदलका सदस्य तथा प्रवक्ता गोकर्ण विष्टले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म हामीले एकीकृत पार्टीको संरचना, विधि मात्र प्रारम्भिक रूपमा टुंगो लगाएका छौँ, संख्यामा छलफल भइसकेको छैन ।’

कार्यदलकै अर्का एक सदस्यले समय अपुग भएका कारण कम्तीमा ५ चैतसम्म गृहकार्यका लागि आजै दुवै अध्यक्षलाई अनुरोध गर्ने तयारी भइरहेको बताए ।

केन्द्र, प्रदेश, जिल्ला र स्थानीय कमिटी कार्यकारी

कार्यदलमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरू कार्यकारी हुने गरी अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटीभन्दा तल प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडा र प्रारम्भिक कमिटी रहने र केन्द्रीय कमिटीभित्र स्थायी समिति र पोलिटब्युरो अंगका रूपमा रहने गरी प्रस्ताव गरिएको छ ।

केन्द्रमा सहअध्यक्षका रूपमा दुवै पार्टीका अध्यक्षले नेतृत्व गर्ने, तर पदाधिकारी नरहने तथा प्रदेश र स्थानीय कमिटीहरूमा पदाधिकारी रहने, तर दुई कि चारजना राख्ने भन्ने विकल्प छलफलका लागि प्रस्ताव गरिएको छ ।

केन्द्र र प्रदेशमा तीन आयोग र केन्द्रीय विभागहरू

कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने गरी अन्तरिम विधानको मस्यौदामा प्रस्ताव गरेको छ । केन्द्रीय विभागहरूसमेत राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ ।

९ वैशाखमा घोषणा गर्न छलफल गरेका छौँ स् गिरिराजमणि पोखरेल

९ वैशाख अर्थात् २२ अप्रिलमै एकीकृत पार्टी घोषणासभा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो । हामी प्रस्ताव गर्छौं, तर अन्तिम निर्णय पार्टी एकता संयोजन समितिले गर्ने हो । आज बैठक छ, कार्यदलले सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि समय नपुग्ने देखिएकाले के हुन्छ बैठकपछि मात्र भन्न सकिन्छ ।

गोकर्ण विष्ट

अन्तरिम विधानको प्रारम्भिक मस्यौदा र जनसंगठन एकीकरणको विधिसम्बन्धी मस्यौदा तयार भएको छ । आजको बैठकमा त्यसबारे विस्तृतमा छलफल हुन्छ । केन्द्रीय कमिटीसहित सबै कमिटीहरूको संख्या कत्रो हुने छलफल भएको छैन ।

कार्यदल संयोजकले ओली र प्रचण्डलाई मिति प्रस्ताव गर्दै

बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् ।

‘उहाँहरूले नै दुवै अध्यक्षलाई कार्यदलमा मितिबारे भएको मोटामोटी समझदारी ब्रिफिङ गर्नुहुनेछ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यहीअनुसार कार्यदलले एकतासम्बन्धी काम गरिरहेको छ ।’

सम्बन्धित शिर्षकहरु