संघीय संसदको बैठक पनि संसद भवनमै बस्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । नयाँ संविधानअनुसारको संघिय संसदको बैठक पनि यसअघिको संसद भवन नयाँ बानेश्वरमा नै बस्ने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात यस अघिको संसद भवनमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने तयारी सुरू गरेको हो ।

निर्वाचन हुने संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवन आगामी पुसभित्रै तयार हुने संसद सचिवालयले जनाएको छ । आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ । संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । सचिवालयले सोहीअनुसार दुवै सदनका बैठक सञ्चालनको तयारी थालेको सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिएका छन् ।

सचिवालयले सम्मेलन केन्द्रकै नुप्से हलमा राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने योजना अघि सारेको प्रवक्ता गौतमले बताए । राष्ट्रियसभाको बैठकका लागि सिट, माइक र प्रविधिलगायत भौतिक संरचना पूरै जडान गर्नुपर्नेछ । दुवै सदनका प्रमुख बैठकबाहेक प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, अन्य पदाधिकारी, कार्यव्यवस्था परामर्श समिति र सरकारलाई आवश्यक पर्ने कक्षको समेत तयारी गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

105 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु