देउवाको किल्लामा धावा बोल्दै वाम गठबन्धनः द्वन्द्व र गठबन्धन प्रमुख चुनौती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् ।

गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ । कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ ।

विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन् ।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले ।  त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।

गठबन्धनका उम्मेदवार भट्टले ४ पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दावी गरेका छन् । २७ बर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्धोगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेका छ ।  देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफुले ५ वर्षमा गर्ने दाबी समेत भट्टको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

624 total views, 5 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु